बागमती नदीमा बेपत्ता ५ युवकमध्ये २ मृत फेला, ३ को सकुशल उद्धार

दियोपोस्ट संवाददाता  

काठमाडौँ । सर्लाहीको बागमती नदीमा बेपत्ता भएका पाँच जना युवकमध्ये दुई जनाको शव फेला परेको छ भने बाँकी तीन जना सकुशल भेटिएका छन्।

इलाका प्रहरी कार्यालय कर्मैयाका अनुसार मृत्यु हुनेमा लालबन्दी नगरपालिका-९ बस्तीपुरका १८ वर्षीय रोहित महतो र सोही ठाउँका २० वर्षीय गणेश महतो रहेका छन्।

रोहितको शव आइतबार सर्लाहीको बागमती नगरपालिका-११ स्थित पुल नजिक फेला परेको हो भने गणेशको शव आइतबार दिउँसो करिब साढे १ बजे बागमती नदीको ड्याम साइटमा भेटिएको प्रहरीले जनाएको छ।

यसैबीच बरहथवा नगरपालिका-५ का २८ वर्षीय सहमद मोमिन, २४ वर्षीय मोहम्मद अख्तर र ब्रह्मपुरी गाउँपालिका–३ का २० वर्षीय श्याम भण्डारी भने सकुशल फेला परेका छन्।

शनिबार दिउँसो करिब ४ बजे रौतहट र सिन्धुलीको सिमानामा पर्ने झपडी झोलुङ्गे पुल नजिकबाट नदी तर्ने क्रममा पाँच जना युवा बेपत्ता भएका थिए।