काठमाडौँ । जल तथा मौसम विज्ञान विभागको पछिल्लो विवरणअनुसार सोमबार देशभर मौसमको अवस्था फरक-फरक रहने देखिएको छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा अत्यधिक गर्मीका कारण ‘तातो लहर’ चल्ने सम्भावना रहेको छ भने देशका धेरै पहाडी, मध्य तथा पूर्वी भूभागमा मेघगर्जन र चट्याङसहित वर्षाको अनुमान गरिएको छ।
दिउँसो विशेषगरी पश्चिमी तराईका जिल्लाहरूमा गर्मीको प्रभाव बढी महसुस हुने अपेक्षा गरिएको छ। दिपायल, धनगढी र नेपालगञ्ज क्षेत्रमा तातो हावाको लहर चल्ने सम्भावना रहेको छ। यी स्थानहरूमा अधिकतम तापक्रम ३८ देखि ४१ डिग्री सेल्सियससम्म पुग्न सक्ने अनुमान गरिएको छ। विशेषगरी धनगढी र नेपालगञ्जमा तापक्रम ४१ डिग्री सेल्सियससम्म पुग्न सक्ने बताइएको छ।
त्यसैगरी वीरेन्द्रनगर, घोराही र भैरहवामा पनि ‘तातो दिन’ रहने सम्भावना छ, जहाँ तापक्रम ३६ देखि ४० डिग्री सेल्सियसको बीचमा रहने अनुमान गरिएको छ। रातिको समयमा भने यी क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ भने भैरहवामा आंशिक बदली रहने सम्भावना छ।
यता पश्चिमी तराई गर्मीले प्रभावित भइरहँदा देशका अन्य प्रमुख क्षेत्रमा वर्षाको सम्भावना देखिएको छ। पोखरा र ताप्लेजुङमा दिउँसो तथा राति दुवै समयमा मेघगर्जन, चट्याङ र मध्यम वर्षा हुने उच्च सम्भावना रहेको जनाइएको छ।