बझाङ भूकम्प : १० स्थानीय तहमा २ हजार ४ सय ४५ घरमा पूर्ण क्षति

६ हजार भन्दा बढी आंशिक क्षति

दियो पोस्ट  

काठमाडौं । गत असोज १६ गते बझाङका विभिन्न स्थानमा शक्तिशालि भुकम्प गयो । चैनपुर केन्द्रविन्दु भएर आएको भूकम्पका कारण ठुलो भौतिक क्षति हुन पुग्यो भने २१ जना घाइते भएका थिए । र सोही क्रममा १ जनाको मृत्यु समेत भएको थियो । भुकम्पपछि केही दिनसम्म त्यसको पराकम्पन पनि गइरहेका छन् । जयपृथ्वी नगरपालिकामा ६, बुंगल नगरपालिकामा २ तलकोटमा १, मष्टा ४ छविसपाथिभेरामा ४, खप्तडछात्रा १, केदारस्युँ १ र वित्थडचिर गाउँपालिकामा २ गरि कुल २१ जना घाइते भएको जिल्ला जिल्ला विपत व्यवस्थापन समितिले निकालेको विवरणमा उल्लेख छ ।

हिन्दुधर्मालम्बीहरुको महान चाड बडा दशै आजबाट सुरु भयो । देशैभर दशैको रौनक छाएका बेला बझाङका बस्तिहरु भने उजाडिएका छन् । घाम–पानी छल्ने टहरोसमेत नभएका स्थानीयलाई दशैको बेला दशा आएको जस्तो भएको छ । भुकम्पपछि प्रधानमन्त्री पुष्प कमल दाहाल प्रभण्डसहित मन्त्रीहरु क्षतिग्रस्त स्थानमा लामबद्ध भएर अवलोकन गर्न गएका थिए । भूकम्प प्रभावित क्षेत्र निरीक्षण गर्न बझाङ पुगेका प्रधानमन्त्री दाहालले भूकम्पबाट पूर्ण क्षति भएका घरका परिवारलाई अस्थायी आवास निर्माण गर्न ५० हजार रुपैयाँ उपलब्ध गराउने घोषणा गरेका थिए भने, ज्यान गुमाएका परिवारलाई सरकारले दुई लाख सहयोग गर्ने घोषणा गरियो ।
साथै भूकम्पबाट प्रभावित अन्य परिवारलाई राहतस्वरूप परिवार संख्याको आधारमा मापदण्ड बमोजिम १५ देखि २० हजार तत्काल राहत खर्च व्यवस्था गरिने बताएका थिए ।

पूर्ण रुपमा भौतिक क्षति कति ?
भुकम्पका कारण जिल्लाका १२ स्तानीय तहमध्ये सुर्मा गाउँपालिका बाहेकका स्थानीय तहमा गरि २ हजार ४४५ घर पूर्ण रुपमा क्षति भएका छन् । सबैभन्दा धेरै क्षति थलरा गाउँपालिकामा भएको छ । उक्त गाउँपालिकामा मात्रै ६ सय ६४ घर पूर्ण रुपमा क्षति भएका छन् भने सबैभन्दा कम वित्थडचिर गाउँपालिकामा ६ ओटा घरमा क्षति पुगेको छ ।
आंशिक क्षति कति ?
आंशिक रुपमा क्षति हुनेको घरसंख्या ६ हजार ८४ रहेको छ । सबै भन्दा धेरै क्षति मष्टा गाउँपालिकामा भएको छ, भने सबैभन्दा कम साइपाल गाउँपालिकामा भएको छ । त्यस्तै ६ घर पूर्ण रुपमा क्षति भएको वित्थडचिर गाउँपालिकामा आंशिक भने क्षति भएको छैन ।
यस्तै जिल्लाका ६ ओटा स्थानीय तह बाहेकका अन्य ६ स्थानीय तहमा ३ हजार ५२४ घरमा सामान्य क्षति भएको छ ।

पशु चौपाय
जयपृथ्वी नगरपालिका र केदारस्यँु गाउँपालका गरि जम्मा ६ पशु चौपायको मत्यु भएको छ । साथै छविसपाथिभेरा गाउँपालिकामा ३ चौपाय घाइते भएका थिए ।

सार्वजनिक भौतिक संरचना
जिल्लाका ८ स्थानीय तहमा गरि सार्वजनिक भौतिक संरचनामा पनि क्षति पुगेको छ । २ नगरपालिका र ६ गाउँपालिका गरि कुल १२३ सरकारी कार्यालय पूर्ण रुपमा क्षति पुगेको छ । यस्तै १५२ संरचनामा भने आंशिक क्षति पुगेको छ । अन्यक्षति (जलविद्युत, शौचालय, सामुदायिक भवन) ५० सार्वजनिक भौतिक संरचनामा क्षति पुग्न गएको छ ।