
काठमाडौं । नेपालीहरुको महान चाड दशैं नजिकिदै गर्दा भने उपत्यका अधिकांश मलहरुमा व्यापारको चहलपहल सुनसान छन् ।
दसैँमा नयाँ लुगा किन्ने, आफन्तहरूका लागि किनमेल गरिने भए पनि यो वर्ष भने मलहरुमा व्यापार घटेको हो ।
विगत १० वर्ष देखि सिभिल मलमा व्यापार गर्दै आएका कृष्ण राणाका अनुसार यो वर्ष पोहोरको तुलनामा २० प्रतिशत पनि व्यापार भएको छैन । उनले भने, “मलमा मानिसहरूको चहलपहल नै भएन । ग्राहक पनि १, २ जना मात्र आउने गर्छन् पहिले जस्तो व्यपार भएन ।”
त्यस्तै काठमाडौं मलमा ६ वर्ष देखि व्यापार गर्दै आएका मनिस शाहीले हरेक वर्ष व्यापार घट्दै गएको बताए । यस्तै अवस्था हुने हो भने विस्थापित नै हुन पर्ने अवस्था आउन सक्ने उनको अनुमान छ ।
न्युरोडस्थित पिपुल प्लाजामा १३ वर्ष देखि व्यापार गर्दै आएको दीपक अधिकारीको पनि उस्तै अवस्था छ । उनका अनुसार यो वर्ष ८० प्रतिशतले व्यापार घटेको छ ।
महङ्गी पनि उस्तै बढेका कारण मलमा चहलपहल कम भएको उनी बताउँछन् ।










