नेपाली समाज अझैपनि हिन्दु मनुवादी चिन्तन र सोँचबाट निर्देशित छ । हाम्रो समाजलाई वर्णाश्रम व्यवस्थामा आधारित जात प्रथाले ब्राह्मण, क्षेत्री, वैश्य र शुद्र गरि ४ वर्ण र ३६ जात जातिमा विभाजन गर्यो । ति मध्ये ब्राह्मणलाई सर्वश्रेष्ठ जात, ज्ञान–गुणका कुरा सिक्ने र सिकाउने, अध्ययन र अध्यापन गर्ने गराउने जाती अथवा सबैभन्दा माथिल्लो दर्जा दिइयो ।
क्षेत्री(य) ब्राह्मणहरुको नीति निर्देशन अनुसार शासन गर्ने, राज्यसत्ता चलाउने, वैश्यलाई कृषि, व्यापार–व्यवसायहरु संचालन गर्ने एवं शुद्रलाई ब्राह्मण, क्षेत्री, वैश्य लगायत त्यस अन्तर्गतका विभिन्न जातहरुको सेवा गर्ने वर्णका रुपमा स्थापित गर्यो। कालान्तरमा १९१० को मुलुकी ऐन मार्फत शुद्रहरुलाई पनि २ भागमा बिभाजन गरेको पाइन्छ । १-शत् शुद्र र २- अशत् शुद्र ।
१९१० को मुलुकी ऐनले शत् शुद्र अर्थात पानी चल्ने मतुवाली जात (से.ता.म.गु.रा.लि.था.ने) र अशत् शुद्र अर्थात् पानी नचल्ने जात, जस्तै कामी (सुनार,टमटा,लोहार,चँदारा), दमाई, सार्की, गाइने, वादी, कसाई, कुसुले, कपाली आदिका रुपमा मानव जातिलाई विभिन्न जातहरुमा विभाजन गरिदिएको पाइन्छ ।
तिनीहरु मध्ये कसैलाई उच्चजात र कसैलाई तल्लो नीचजात, कुनै जातको पानी चल्ने, कुनै जातले छोएको खान नहुने, कथित उपल्लो पानी चल्ने जातमा पनि भान्सामा छोइछिटो गर्ने, बिहेवारी नचल्ने जस्ता चरम अन्यायपूर्ण, विभेदकारी, अमानवीय र अप्राकृतिक हिन्दुरब्राह्मण दर्शन वा विचारधाराको प्रतिपादन गरि भारतीय र नेपाली समाजमा लागु गराउने र राज्यसत्ताको प्रयोग गरि स्थापित गराउने काम मनुवादी ब्राह्मणहरुले नै गरेका हुन् ।
यसमा कुनै दुईमत छैन । र यति भन्न हिच्किचाउनु पर्ने कुनै कारण छैन । यो इतिहासले सिद्ध गरेको कुरा हो । किनकी मानव जाति सम्पूर्ण जगत्मा सर्वश्रेष्ठ प्राणी हो । पशुहरुलाई प्रकृतिले नै अलग अलग प्रजातिमा छुट्याई दिएको छ । हेर्दा उस्तै देखिने गोरु–गाई र राँगा–भैंसी, बोका–बाख्रा र भेडा–भेडी, गधा र घोडा–घोडी, पाटेबाघ र निंगालेबाघ, चितुवा र सिंहीनी, स्याल र कुकुर जस्ता थुप्रै जनावरहरु छन् जो हेर्दा उस्तै देखिन्छन् तर, उनीहरुमा एक समूह भन्दा बाहिर समागम र सन्तान उत्पादन हुदैन ।
मानव जाति त्यस्तो जाति होईन यिनीहरुको भाले–पोथी (पुरुष र महिला) चाहे जस्तोसुकै रंग (कालो, गोरो, गहुँगोरो) आदिको होस् वा जस्तोसुकै जिउडालरशारिरीक बनावट (पुड्को, होंचो–अग्लो, दुब्लो–मोटो, नाक चुच्चे वा थेप्चे) जस्तो भएपनि उनीहरुको एक अर्का प्रति शारिरीक आकर्षण हुनसक्छ । शारिरीक सम्बन्ध हुनसक्छ र आफु जस्तै सन्तान जन्माउन सक्छन् । चाहे त्यो उत्तरी अमेरिकाको भव्य शहरमा बस्ने होस् वा दक्षिणी अमेरिकाको अमेजनको जंगलमा बस्ने किन नहोस । युरोपमा बस्ने होस् वा एशियामा, अफ्रिका होस् वा अष्ट्रेलिया जहाँको महिला–पुरुषले विवाह गरेपनि सन्तान जन्मिन्छ । चाहे उनीहरुको भाषा, भेष–भुषा, रहन–सहन, संस्कार–संस्कृति जीवन शैली केही नमिलोस्, किनकी उनीहरुलाई प्रकृतिले छुट्याएको छैन ।
कुनै विभेद गरेको छैन । सबै मानवलाई बायोलोजिकल्ली एकै किसिमको बनाएको छ । तर, यही सर्वश्रेष्ठ प्राणी भनिने मानव जाति मध्ये दक्षिण एशियामा खासगरि भारत, बांगलादेश, नेपाल जस्ता मुलुकहरुमा बसोबास गर्ने मानव जातिले आफ्नो सभ्यताको विकासको क्रममा मानव समाजलाई सभ्य र मर्यादित बनाउन प्रतिपादन गरेको भनिने वैदिक ब्राह्मण धर्मलाई यसका संरक्षक एवं प्रचारकहरुले आफुलाई सम्पूर्ण मानव जाति मध्ये सर्वश्रेष्ठ जातका रुपमा स्थापित गर्ने काम गरे ।
आफ्नो स्वार्थ पुरा गर्नका लागि मानव समाजलाई विभाजित गरि राख्न शुरुमा वर्णको आधारमा चार वर्णब्राह्मण, क्षत्रिय र क्षेत्री, वैश्य, शुद्र गरि मानवलाई चार श्रेणीमा विभाजित गर्ने काम गरे । कालान्तरमा यही ४ वर्ण भित्रपनि मानिसहरुले जिविकोपार्जनका लागि अंगालेका पेशाका आधारमा विभिन्न जात उप–जातहरु बनाई उनीहरु मध्ये कुनै जात ठुलो र कुनै जात सानो, कुनैको हातको पानी चल्ने कुनैको हातको पानी नचल्ने, कुनैलाई छुन हुने कुनैलाई छुन पनि नहुने (अछुत) बनाए ।
जातप्रथाले एक जातले गर्ने पेशा अर्को जातले गर्न नहुने वा नपाइने जस्ता चरम अमानवीय, विभेदकारी, अन्यायपूर्ण र घोर अप्राकृतिक रुपमा मानव समाजलाई विभाजन गर्ने काम गर्यो । उनीहरुलाई मानसिक, सांस्कृतिक रुपमा विभाजित गरि आफुहरु र आफ्ना सन्तानहरु सधैंभरि शासक बनिरहन र अन्य जात–जातिहरु माथि शासन गरि रहन ब्राह्मणरहिन्दू धर्मको आडमा दक्षिण एशियाली मानव समाजलाई जातका आधारमा विभाजन गर्ने जुन अप्राकृतिक काम गरियो यहि प्रणाली अन्तर्गत नेपाली समाजमा विद्यमान एउटा समस्या अन्तर्जातीय विवाहको पनि हो ।
नेपाली समाजको विवाह प्रणाली र अन्तर्जातीय विवाहका कारण उत्पन्न समस्याहरुलाई र यसको मूलकारणलाई यिनै ऐतिहासिक तथ्यहरुका आधारमा बुझ्न जरुरी छ । प्रकृतिले आफै बनाएका कैयौं यस्ता नियमहरु छन् जसलाई मानिसले चाहेर पनि तोड्न सक्दैन । जस मध्ये एक हो, विपरित लिङ्गीहरुको एक अर्का प्रतिको आकर्षण र प्रेम । यो प्रकृतिको शाश्वत र सार्वभौम नियम हो ।
यसलाई कुनै जात, धर्म, रंग, शारिरीक बनावट (होचो–अग्लो, चुच्चे–थ्याप्चे, अपाङ्ग–सपाङ्ग), आर्थिक हैसियत, धनी र गरिब जस्ता अप्राकृतिक बन्धनहरुले बाँधेर राख्न सकिदैँन ।
प्रेमले जात, धर्म, धनी गरिब केही भन्दैन । यो त स्वतस्फूर्त हुने कुरा हो । तर, नेपाली समाजा अन्र्तजातीय प्रेम र बिवाह सामाजिक रुपमा वर्जित छ । अर्थात, प्रेममा जात बाधक बन्ने गरेको छ । इतिहासमा पनि प्रेम र अन्तर्जातीय वैवाहिक सम्बन्धका कारण ठुला–ठुला विद्रोह र युद्ध भएका थिए ।
आज मानव समाज हिजोको जस्तो छैन । धेरै ठुला क्रान्तिकारी परिवर्तन, खासगरि शिक्षा, विज्ञान र प्रविधिको क्षेत्रमा भएका छन् । त्यसैले २१ औं शताब्दीलाई विज्ञान र प्रविधिको युग पनि भनिएको छ । विज्ञान र प्रविधिको जुन रुपमा विकास हुन्छ मानिसको चेतनाको स्तर पनि त्यही मात्रामा वा केही कम विकसित हुने गछ । यदि विकसित प्रविधि अनुसार समाजले आफुलाई रुपान्तरण गर्न सकेन भने त्यो समाज पछि पर्छ र अविकसित हुन्छ ।
ठीक यही कुरा अन्तर्जातीय विवाह सम्बन्धी मामिलामा पनि लागु हुन्छ । आजभोलि नेपाली समाजमा अन्तर्जातीय प्रेम र विवाहका कारण धेरै दलित युवा–युवतीहरु समस्यामा परिरहेका छन् । खास गरि दलित किशोरी र महिलाहरु कथित माथिल्लो जातको पुरुषसंगको प्रेम वा बिबाहका कारण बिचल्लीमा पर्ने गरेका प्रशस्तै उदाहरणहरु छन् । उनीहरुको वैवाहिक जीवन असफल भईरहेको छ ।
तथाकथित ठुला जातका युवाहरुले दलित युवतीहरुलाई पारिवारिक दबावमा परि विवाह गरेको (भगाएको) केही समय पछि अलपत्र पारि छोडिदिने र उनीहरुको भविष्य नै अन्धकार पारी आत्महत्या गर्न सम्म बाध्य पार्ने, तथा कहिले काहीँ दलित युवा–युवतीको हत्या सम्म गरिदिने जस्ता आपराधिक घटना समेत घटाइने गरिएको छ । यसको प्रत्यक्ष उदाहरण रुपन्देहीकी अंगिरा पासीको घटना हो । कथित उपल्लो जातको भनिने बिरेन्द्र भरले अंगिरालाई प्रेममा नाममा बलात्कार गरेको र पारिवारिक दवावमा बिवाह गर्नु परेपछि अंगिराको हत्या गरिएको थियो ।
समाजमा यस्ता घटनाहरु हुनुमा ब्राह्मणवादीरमनुवादी सोंच (विचारधारा) नै प्रमुख कारण रहेको छ । यही सोंचका कारण नै समाजमा चरम जातीय विभेद कायमै छ । माथिल्लो जात र तल्लो जात, पानी चल्ने जात र पानी नचल्ने जात जस्ता घोर अमानवीय, अप्राकृतिक, अन्यायपूर्ण एवं पुरातन सोंचका कारण नै यो समुदायका महिलाहरु जसले अन्तर्जातीय विवाह गरेका छन्, उनीहरु नारकीय जीवन जिउन बाध्य छन् ।
आजभोलि तथाकथित माथिल्लो जात आर्य–खस एवं जनजाति समुदायका युवाहरुले दलित युवतीरमहिलाहरुलाई भगाई विवाह गर्ने र केही दिन, केही महिना पछि अझ कतिपय ठाँउमा त महिला गर्भवती भएपछि वा बच्चा जन्मिएपछि महिलालाई अलपत्र छोडी पुरुष भागेको वा परिवारबाटै भगाइएको घटनाहरु आम भईरहेका छन् । यिनीहरुबाटै अजित मिजार, नवराज वि.क. र अंगिरा पासी जस्ता दलित युवा–युवतीहरुको ज्यानै लिने सम्मका अमानवीय घटनाहरु भईरहेका छन् । यी र यस्ता घटना त हाम्रो समाजका प्रतिनिधि घटना मात्र हुन् । कैयौं यस्ता घटना त मिडियामा आउनै पाउँदैनन् र भित्र भित्रै दबाईन्छ ।
समाजमा यस्ता प्रकृतिको घटनाहरु बढनुको मुख्य कारण एकातिर २१औं शताब्दीको विज्ञान प्रविधिको क्षेत्रमा र शिक्षाको क्षेत्रमा आएको अग्रगामी परिवर्तन र त्यसका कारण युवा पिढीको सोंचमा आएको परिवर्तन र अर्कोतिर समाजमा विद्यमान हजारौं वर्षदेखि चलिआएको (शासन गरि आएको) पुरातनपन्थी, मनुवादीरब्राह्मणवादी सोंच जसले समाजलाई यथास्थानमा राख्न र अग्रगामी परिवर्तनलाई रोक्न चाहन्छ । जसको अगुवाई नेतृत्व पुरानो पिढीले गरिरहेको छ । यी दुईथरी सोंच वा चिन्तन बीचको टकराव नै हो, त्यसैले सोंचमा परिवर्तन आउन जरुरी छ ।
विगतमा देशमा ठुला–ठुला राजनीतिक परिवर्तनहरु भए । हरेक परिवर्तनको लडाईंमा दलित समुदायको पनि समान सहभागिता रहेको छ । समाजमा आफ्नो समुदायले भोग्नु परिरहेको अमानवीय व्यवहारको पिडाबाट मुक्ति पाउने र अरु मानव सरह समान हैसियतमा बाँच्न पाउने आशामा जनयुद्धमा आवद्ध भएका १३ सय भन्दा बढी दलित समुदायका युवाहरुले आफ्नो प्राणको आहुति दिएका छन् । तर दुःखको कुरा १० वर्षे जनयुद्धमा भएका प्रेम बिवाह शान्ति स्थापना पछि डिभोर्समा परिणत भए । यो कुरा स्वयंम माओवादी पार्टीका ब्यक्तिहरुे समेत स्वीकार गर्छनन् ।
विगतमा जुन राजनीतिक पार्टीहरुले समाजमा रहेका राजनैतिक, आर्थिक, सामाजिक एवं साँस्कृतिक असमानता र विभेदहरुको अन्त्य गरि समतामुलक समाजको निर्माण गर्दै देशलाई सभ्य र समृद्ध बनाउने भनेर सपना बाँडेका थिए उनीहरु नै दलित बिरोधी जस्ता देखिएका छन् । पालैपालो नेपालको राज्यसत्ताको संचालन गरिरहेका छन् उनीहरु अहिले पूर्णरुपमा असफल भएका छन् । किनकी “घुमीफिरी रुम्जाटार” भनझैं हिंजोका ति क्रान्तिकारी भनाउँदा राजनीतिक पार्टीहरु जसले समाज र समाजको पुरातनपन्थी सोंच परिवर्तन गछौं भनेर मुक्तिकामी जनतालाई सपना बाँडेका थिए ।
आज तिनीहरु आफै त्यही पुरातनपन्थी, मनुवादी सोंचबाट नै निर्देशित छन् । तिनै एमाले, काँग्रेस, माओवादी लगायत पार्टीका नेता, कार्यकर्ता बाटै जातीय विभेद र छुवाछुतको घटना भइरहँदा पनि पार्टी मौन बस्ने, प्रहरीमा उजुरी गर्न नदिने, घटनाको ढाकछोप गर्ने वा पिडीतहरुलाई मिलापत्र गर्न दबाव दिने जस्ता कार्य पार्टीका स्थानिय नेताहरुबाट हुने गर्छ ।
सारमा यसरी हाम्रो वैदिक हिन्दू समाजमा हुने जातिय विभेदका घटना तथा अन्तर्जातीय विवाहका कारण उत्पन्न हुने समस्याको मुलकारण वैदिक हिन्दूरमनुवादी धार्मिक सत्ताले बनाएको तहगत जात व्यवस्था नै हो । त्यसकारण यी सबै अमानवीय विभेदबाट मुक्तिका लागि अब दलित समुदायले आफ्नै नेतृत्वमा सशक्त दलित आन्दोलन उठाउन सक्नुपर्छ । जसको वैचारिक लाईन मनुवादी धार्मिक सत्तालाई कमजोर पार्ने हुनुपर्छ । न कि मनुवादी धर्ममा सुधार गर्ने वा यसै अन्धविश्वासी, अमानवीय र रुढीग्रस्त धर्ममा रहेर संघर्ष गर्ने । साथ साथै राजनीतिक र आर्थिक मोर्चा बाट पनि समानान्तर रुपमा विद्रोह हुन जरुरी छ ।
जहाँसम्म संवैधानिक एवं कानुनी व्यवस्थाको कुरा छ, संविधान र कानुनको किताबमा लेख्दैमा यो समस्या समाधान हुनेवाला छैन । किनकी कानुन लागूगर्ने ठाउँमा दलित समुदायको उपस्थिती अत्यन्तै शुन्य छ । ९५ प्रतिशत तथाकथित उच्चजात भनिनेहरुको कब्जामा न्यायालय छ । यस्तो न्यायलयबाट न्याय सेवाबाट उत्पीडित दलित समुदायले न्यायको आशा गर्नु “आकाशको फल” जस्तै हो । त्यसैले अबको विकल्प भनेको दलितको आफ्नै नेतृत्वमा एकताबद्ध, सशक्त र जुझारु संगठनको बलमा गरिने आन्दोलन नै हो । अन्यथा नेपालका दलित समुदायले यो समस्याबाट कहिल्यै मुक्ति पाउने छैनन् ।