‘कला’ र ‘साहित्य’ हाम्रो जननी हो: प्रदेश प्रमुख घर्तीमगर!

लुम्बिनी प्रदेश

दियोपोस्ट संवाददाता  

बुटबल । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख कृष्ण बहादुर घर्ती मगरले कला र साहित्य नेपाली संस्कृतिको जननी भएको बताएका छन् । शनिबार लुम्बिनी वाङ्मय प्रतिष्ठान रुपन्देहीले आयोजना गरेको ‘संस्कृति रूपान्तरणमा हाम्रो दायित्व’ विषयक गोष्ठीमा प्रदेश प्रमुख घर्तीमगरले संस्कृतिमाथि प्रहार भएको बताएका हुन् ।

सो अवसरमा उनले नेपाली लोक संस्कृति लोप हुन लागेको प्रति चिन्ता ब्यक्त गरे । उनले भने, ‘समाजमा साँस्कृतिक रुपान्तरण क्रमिक रुपमा भइरहेको छ । हाम्रा मूल्य मान्यताहरु सहअस्तित्व, समानता र स्वतन्त्रताको मूल्यमा ढल्न थालेका छन् । हाम्रो जीवन पद्धतिमा लोकतन्त्रको प्रभाव परिरहेको छ ।’ साहित्य, कला र सङ्गीतमा लागेकाहरुले साँस्कृतिक रुपान्तरणमा दिशा निर्देश गर्नु पर्ने उनको धारणा छ ।

प्रदेश प्रमुख घर्तीमगरले आफू जनताको सेवक भएको भन्दै साहित्य, कला, संस्कृतिको संरक्षण र रुपान्तरणमा आफ्नोे सहयोग हुने बताए ।

कार्यक्रममा साहित्यकार, राजनीतिक विश्लेषण तथा समालोचक ऋषि आजादले प्रस्तुत गरेको ‘संस्कृति रूपान्तरणमा हाम्रो दायित्व’ विषयक अवधारणा पत्रमा संस्कृतिविद् प्राध्यापक डाक्टर सूर्य केसीले टिप्पणी गर्दै समाज रुपमान्तरमा नयाँ बहस हुनु पर्ने धारणा ब्यक्त गरे ।

संस्कृतिविद् विष्णु घर्ती भनभनेले संस्कृतिमा केही विचलनहरु र विकृति आएको भए पनि संस्कृति रुपान्तरण हुँदै गएको बताए । प्राध्यापक डाक्टर लक्ष्मी पोखरेल कोकिलाले लोक संस्कृतिका सार्वभौम पक्षहरु ब्दलिन नसक्ने तर त्यसमा रहेको रुढिपन, अपमान र विभेदहरु हटाउनु पर्ने धारणा ब्यक्त गरिन् । उनले जातीय बिभेद र छाउपडी जस्तो प्रथा संस्कृति भित्रको गलत अभ्यास भएको बताइन् ।

कार्यक्रमा संस्कृति तथा पर्यावरणविद् युवराज कँडेल, प्राध्यापक मुकुन्द पोखरेल, पूर्व जिसिअ रुद्रलाल उपाध्याय, समृद्धि सरोकार केन्द्रका अध्यक्ष गणेश घिमिरे, सिमलीका संस्थापक महेन्द्र अर्याल, प्राध्यापक हिरण्य पन्थी, किसान सङ्घ प्रदेश अध्यक्ष रीता केसी लगायतले आ–आफ्नो धारणा ब्यक्त गरेका थिए ।

कार्यक्रममा लुम्बिनी प्रदेश प्रमुख कृष्ण बहादुर घर्ती मगरले कला, साहित्य र संस्कृतिको क्षेत्रमा अनवरत काम गर्दै आएका चार जनालाई लुम्बिनी वाङ्मय प्रतिष्ठान नेपालको आजीवन सदस्यता प्रदान गरेका थिए ।

TATA ADD