काठमाडौँ । जेनजी आन्दोलनको एक महिना पछि सार्वजनिक हुँदै पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारलाई चेतावनी दिएका छन् । भक्तपुरको गुण्डुमा सार्वजनिक कार्यक्रममा उपस्थित भएका ओलीले वर्तमान सरकारप्रति लक्षित गर्दै चेतावनी दिएका हुन् ।
लामो समयपछि राजनीतिक अभिव्यक्ति दिएका ओलीले वर्तमान प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा रहेको सरकारलाई असंवैधानिक भन्दै त्यस सरकारसँग नडराउने चेतावनी दिएका छन् ।
उनले कार्की नेतृत्वको सरकार जनताको मण्डेटविपरीत चलेको भन्दै त्यसको बिरुद्ध आन्दोलनको तयारी गर्न कार्यकर्तालाई निर्देशन समेत गरेका छन् । सो अवसरमा उनले संसद् पुनर्स्थापना हुनुपर्ने आवश्यकता समेत औंल्याएका छन् । उनले भने, “नेपाली जनताले फेरि एकपटक आन्दोलनको आँधी–तूफान सिर्जना गरेर संविधान र संसद् दुवैलाई पुनःसशक्त बनाउनुपर्छ।”
उनले कार्यकर्ताहरुलाई आन्दोलनमा जुट्न निर्देशनसमेत दिएका छन् । अध्यक्ष ओलीले वर्तमान सरकार सीमित स्वार्थ समूहको सरकार भएको आरोप लगाउँदै जनतासँगै अघि बढ्ने प्रतिज्ञा दोहोर्याएका छन् ।
उक्त कार्यक्रममा सहभागी कार्यकर्ताहरूले ‘वी लभ यु ओली बा’ भन्दै नाराबाजी गरेका थिए ।