काठमाडौं । पूर्वउपराष्ट्रपति एवम् माओवादी केन्द्रका उपाध्यक्ष नन्दबहादुर पुन (पासाङ) र उनका छोराहरूविरुद्ध पनि प्रहरीले अनुसन्धान अघि बढाएको छ । विद्युतीय चुरोट (भेप) मा सुन लुकाएर तस्करी प्रकरणमा उनीहरुमाथि अनुसन्धान अघि बढाएको हो ।
सुन तस्करी प्रकरणमा रोल्पाको राङ्सी घर भएका पूर्वउपराष्ट्रपति पुनको समेत नाम जोडिएकाले उनीमाथि अनुसन्धान अघि बढाइएको नेपाल प्रहरीका एक उच्च अधिकारीले बताए ।
दुई वर्षअघि उनका जेठा छोरा जितेन्द्रले शक्तिको दुरुपयोग गरी सीमा वारपार गर्न गृह मन्त्रालयबाट हुम्लाबासी भएको परिचयपत्र बनाएका थिए ।
त्यसपछि हुम्ला र चीनको सीमा क्षेत्र ताक्लाकोट पुगेर चिनियाँ टोलीसँग तमसुक गरेर चार किलो सुन बुझेको समाचार सार्वजनिक भएको थियो ।
पूर्वउपराष्ट्रपति पुनका जेठा छोरा जितेन्द्र हाल अमेरिकामा रहेको बताइएको छ । पुनका कान्छा छोरा दीपेश पुन पनि सुन तस्करी प्रकरण, सहकारी ठगी र भुटानी शरणार्थी प्रकरण लगायतमा मुछिएका छन् ।
२०७९ सालमा भेपमा लुकाएर ल्याइएको करिब ९ किलो सुन र २०८० सालमा हङकङबाट ब्रेक सुमा लुकाएर ल्याइएको ६१ किलो सुन तस्करी प्रकरणमा दिपेश मुछिएका छन् । हाल दिपेश पनि फरार सुचीमा रहेको प्रहरीको भनाई छ ।
पूर्वउपराष्ट्रपति पुनका छोराहरु, आफन्त र उनको सचिवालयका सदस्य समेत सुन तस्करी प्रकरणमा मुछिएका र पुनको चिनियाँ टोलीसँग शंकास्पद सम्बन्ध रहेको भन्दै प्रहरीले उनीमाथि अनुसन्धान अघि बढाएको हो ।
यही प्रकरणमा पूर्वसभामुख समेत रहेका माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई प्रहरीले आइतबार पक्राउ गरिसकेको छ ।