भीमफेदी कारागारबाट फरार ११३ कैदीबन्दी आफैँ फर्किए, १८४ जना अझै सम्पर्कबिहिन

दियोपोस्ट संवाददाता  

काठमाडौँ । जेन-जी आन्दोलनका क्रममा गत भदौ २४ गते मकवानपुरको भीमफेदी कारागारबाट फरार भएकामध्ये ११३ कैदीबन्दी कारागार फर्किएका छन् । मकवानपुरको भीमफेदीस्थित क्षेत्रीय कारागारमा आज बिहानसम्म एक सय १३ जना कैदीबन्दी आफैँ फर्केका हुन् ।

कारागारका प्रमुख सुवास पौडेलका अनुसार भीमफेदी कारागारबाट भागेकामध्ये हालसम्म दुई सय ५६ र अन्य कारागारबाट फरार ६९ गरी तीन सय २५ कैदीबन्दी भीमफेदी कारागार फर्किएको ले जानकारी दिए।

प्रमुख पौडेलका अनुसार २४ गते राति भीमफेदी कारागारको पर्खाल भत्काएर फरार भएका चार सय ४० कैदीबन्दी मध्ये एक सय १३ कैदीबन्दी आफैँ कारागारको सम्पर्कमा आएका हुन् ।

कारागारबाट फरार भएकामध्ये एक सय ८४ कैदीबन्दी अझै सम्पर्कमा नआएको प्रमुख पौडेलले बताए । यस्तै सो कारागारबाट फरार ३९ जना विदेशी कैदीबन्दीमध्ये हालसम्म १२ जनामात्र फिर्ता आएको र २७ जना अझै फरार रहेको उनले बताए ।

कारागारबाट भागेका फरार कैदीबन्दीको खोजीकार्य तीव्र पारिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले बताए ।