काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा मंगलबार बसेको केन्द्रीय समिति बैठकमा सभापति देउवाले खड्कालाई जिम्मेवारी सुम्पिएका हुन् ।
बैठकका क्रममा देउवाले खड्कालाई कार्यवाहकको जिम्मेवारी दिएको जानकारी गराएका थिए । सभापति देउवाले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गरे ।
सभापति देउवाले जेनजी विद्रोहको दोस्रो दिन अर्थात् भदौ २४ गते नेपालको इतिहासकै एउटा डरलाग्दो दिनको रूपमा लिपिबद्ध हुने उल्लेख गरे । त्यस दिनको घटनाले सबैलाई मर्माहत बनाएको उनले बताए ।
बैठकमा सभापति देउवाले मुलुकमा संकट आउँदा नेपाली काँग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको विगतको अनुभव रहेको उल्लेख गर्दै अहिले पनि सबै पार्टीहरूबीच सहमति खोजी मुलुकको निकासका लागि पहल गर्नुपर्ने बताए ।
सभापति देउवाले निर्वाचनका लागि शान्ति सुरक्षाको अवस्था सामान्य बनाएर शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सबैले स्वतः स्फूर्त रुपमा निर्वाचनमा भाग लिने अवस्था निर्माण गर्ने दायित्व सरकारको भएकोले त्यसतर्फ सरकारले ध्यान जानुपर्ने पनि बताए ।
जेन-जी आन्दोलनको क्रममा प्रदर्शनकारीको आक्रमणमा परेका देउवा आज मात्र सार्वजनिक भएर बैठकलाई सम्बोधन गरेका हुन् । सभापति शेरबहादुर देउवाले बैठकलाई सम्बोधन गरेपछि नेपाली काँग्रेस केन्द्रीय समिति बैठक पर्सी असोज ३० गते बस्ने गरी स्थगित भएको छ ।