विपिन जोशीको दुई वर्ष अघि नै हत्या भएको पुष्टि

दियोपोस्ट संवाददाता  

काठमाडौं । हमासबाट मारिएका नेपाली युवा विपिन जोशीको दुई वर्ष अघि नै हत्या भएको पुष्टि भएको छ । शवको डीएनए परिक्षणको क्रममा विपिनको दुई वर्ष अघि सन् २०२३ मा नै हत्या भएको पुष्टि भएको हो ।

इजरायली सैनिक अस्पतालमा गरिएको डीएनए परीक्षणको रिपोर्टमा विपिनको सन् २०२३ को अन्त्यतिर नै हत्या भएको देखाइएको इजरायलस्थित नेपाली दूतावासले जनाएको छ ।

इजरायलस्थित दूतावासका अनुसार हमासले हस्तान्तरण गरेको शव विपिन जोशीकै भएको डीएनए परीक्षणबाट पुष्टि भएको थियो ।

स्रोतका अनुसार, परराष्ट्र मन्त्रालयको समेत जिम्मेवारी सम्हालेकी प्रधानमन्त्री सुशीला कार्कीलाई यसको औपचारिक जानकारी भएपछि विपिनको डीएनए परीक्षणको रिपोर्टबारे सार्वजनिक गराउने तयारी छ ।

अध्ययनको सिलसिलामा इजरायल पुगेका कञ्चनपुरका विपिन जोशी गत अक्टुबर ७ मा हमासले किबुत्ज क्षेत्रमा गरेको आक्रमणको क्रममा बन्धक बनाइएका थिए ।

सो आक्रमणको क्रममा १० जना नेपाली विद्यार्थीहरु मारिएका थिए भने हमास लडाकुहरुले विपिनलाई आफूसँगै लिएर गएका थिए ।