सुरक्षाकर्मी दुरुपयोग गर्नेहरू नै अहिले विरोधमा छन्ः गृहमन्त्री अर्याल

दियोपोस्ट संवाददाता  

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकार क्रान्तिपछि बनेको सरकार भएको बताएका छन्। गृह मन्त्रालय परिसरमा पत्रकारहरूसँग कुरा गर्दै उनले सरकारलाई असंवैधानिक भन्ने अधिकार कसैलाई नरहेको स्पष्ट पारे। अर्यालले भने, “क्रान्तिपछि बनेको सरकार हो, हेक्का रहोस्, क्रान्तिकारीहरूलाई आतंककारी देख्नेहरू नै अहिले डुक्रिरहेका छन्।”

उनले सुशासनका लागि सरकार प्रतिबद्ध रहेको बताउँदै विगतमा सुरक्षाकर्मीहरूको दुरुपयोग गर्नेहरूले नै अहिले विरोध गरिरहेको आरोप लगाए। “बर्दीधारीलाई घरमा भान्से, पिएसओलाई ड्राइभर बनाउनुभएको थियो,” उनले भने।

अनावश्यक सुरक्षा फिर्ता गर्दा विरोध भइरहे पनि सरकारले शान्ति सुरक्षा सुनिश्चित गर्न गम्भीर पहल गरिरहेको उनले बताए। व्यक्तिगत रूपमा कसैलाई खतरा भए निवेदन दिन आग्रह गर्दै उनले भने, “थ्रेटको मूल्यांकन गरी आवश्यक कारबाही तुरुन्त हुनेछ।”