काठमाडौँ । नेपाली कांग्रेसमा विशेष महाधिवेशनको माग गर्दै महाधिवेशन प्रतिनिधिले गरेको हस्ताक्षरसहितको फाइल कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाइएको छ । देशभरबाट संकलित २४ सय ८८ जनाको हस्ताक्षर बुधबार कांग्रेस नेता गुरु घिमिरेले कार्यबाहक सभापति खड्कालाई बुझाएका हुन् ।
हस्ताक्षर अभियान मार्फत नेपाली कांग्रेसका ५३ प्रतिशत प्रतिनिधि विशेष महाधिवेशनको पक्षमा रहेको देखिएको छ । मङ्सिरभित्रै नियमित महाधिवेशनको कार्यतालिका ल्याउने विषयमा पार्टी पदाधिकारीबीच सहमति बन्न नसकेपछि विशेष महाधिवेशनका लागि हस्ताक्षरसहितको निवेदन दिइएको एक नेताले बताए ।
पार्टीको विधानमा ४० प्रतिशत प्रतिनिधिले हस्ताक्षरसहित निवेदन दिएमा तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने बाध्यकारी व्यवस्था छ ।