एमालेको ११ औँ महाधिवेशन मंसिर २७-२९ पोखरामा गर्ने अध्यक्ष ओलीको प्रस्ताव

दियोपोस्ट संवाददाता  

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११ औं महाधिवेशन मङ्सिर २७ देखि २९ सम्म पोखरामा गर्ने प्रस्ताव पेश गरिएको छ । ललितपुरको रामबाघ महलमा सुरु भएको एमालेको दशौँँ केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेश गर्दै महाधिवेशन गर्ने प्रस्ताव गरेका हुन् ।

अध्यक्ष ओलीले अप्ठ्यारो र असहज परिस्थितिमा पार्टीभित्र सुदृढ एकताको आवश्यकता भएकाले त्यहीअनुसार काम गर्न पार्टी पङ्क्तिलाई आह्वान गरे ।

ओलीले आफूहरू सिमलको भुवाजस्तो जता हावा लाग्यो उतै बग्ने खालको पार्टी नभएको भन्दै एमाले देशभक्ति, राष्ट्रियता, विकास र सामाजिक न्यायका लागि निरन्तर लाग्ने अध्यक्ष ओलीले बताए ।

सो अवसरमा अध्यक्ष ओलीले भने्, ‘पार्टीको केन्द्रीय कमिटीले भन्छ र आदेश दिन्छ भने म खुसीका साथ नेतृत्व छाड्न तयार छु । तर अप्ठ्यारो स्थितिमा देशलाई अलपत्र पार्दिनँ, सामाजिक सञ्जालमा कसैले भन्दैमा नेतृत्व छाड्ने होइन ।’

अध्यक्ष ओलीले पार्टी अध्यक्ष पद छोड्नुपर्ने विषय फेसबुकले भन्ने नभएर, यो कमिटीले भन्नु पर्ने उनको तर्क छ । उनले कमिटीले भनेका बेला एकदम खुसीका साथ नेतृत्व छोड्न तयार रहेको बताए ।

अध्यक्ष ओलीले नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का नेता तथा कार्यकर्तालाई एमालेमा फर्कन आह्वान समेत गरे । केन्द्रीय कमिटी बैठकमा अहिले अध्यक्ष ओलीले समसामयिक राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उनले पार्टीको ११ औं महाधिवेशन आगामी मङ्सिर २७ देखि २९ गतेसम्म पोखरामा गर्नुपर्ने प्रस्ताव पेश गरे ।

केन्द्रीय कमिटी बैठकमा सो प्रस्तावबारे ठोस निर्णय हुने र बैठक असोज ३१ गतेसम्म सञ्चालन हुने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए ।