काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का स्थायी कमिटी सदस्यहरूले अध्यक्ष माधवकुमार नेपालको राजीनामा मागेका छन् । बुधवार बसेको पार्टीको स्थायी कमिटी बैठकमा चार जना सदस्यले राजीनामा माग गरेका हुन् ।
अध्यक्ष नेपालमाथि पार्टी विभाजनमा भूमिका खेलेको तथा भ्रष्टिकरणमा सामेल भएको भन्दै स्थायी किमिट सदस्यहरु रामकुमारी झाँक्री, हरि पराजुली, डा.विजय पौडेल, र जीवनराम श्रेष्ठले अध्यक्ष नेपालको राजीनामा मागेका थिए ।
उनीहरुले अध्यक्ष नेपाललाई नैतिक जिम्मेवारी लिएर तत्काल राजीनामा दिइ नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण र रूपान्तरण गर्न आग्रह गरेका छन् । पार्टी बैठकका क्रममा उनीहरुले समयको मागअनुसार चल्नु पर्ने र आफै कुरा बुझेर अध्यक्षले राजीनामा दिनु पर्ने बताए ।
बैठकमा नेताहरूले नेकपा माओवादी केन्द्रसँग पार्टी एकता गर्न नहुने धारणा समेत राखेका थिए । एक स्थायी कमिटी सदस्यका अनुसार रामचन्द्र यादव र श्रीप्रसाद साहसहितका नेताले माओवादीसंग एकता गर्न नहुने बताएका थिए ।