काठमाडौँ । विश्वकै सर्वोच्च शिखर सगरमाथाको पहिलो सफल आरोहण दलका अन्तिम जीवित सदस्य कान्छा शेर्पाको ९३ वर्षको उमेरमा निधन भएको छ। उनका छोरा छिरिङ पेन्जो शेर्पाका अनुसार, उनको निधन बिहीबार बिहान करिब २ः१० बजे कपनस्थित निवासमै भएको हो।
कान्छा शेर्पा सन् १९५३ मा सर एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाको नेतृत्वमा गरिएको सगरमाथाको पहिलो सफल आरोहण दलका सदस्य थिए। त्यसबेला उनी २१ वर्षका थिए।
हिलारी र तेन्जिङले सन् १९५३ मे २९ (वि.सं २०१० जेठ १६)मा पहिलोपटक सगरमाथाको शिखरमा सफलतापूर्वक पाइला टेकेका थिए। उक्त आरोहण दलमा १६ जना बेलायती र ३५ जना नेपाली शेर्पाको सहभागिता थियो।
कान्छा शेर्पा सगरमाथामुनिको नाम्चे बजारमा आफ्ना दुई छोरासँग बस्दै आएका थिए। क्यान्सर ट्युमरबाट पीडित उनी तीन महिनाअघि स्वास्थ्य उपचारका लागि काठमाडौं आएका थिए।
सन् २०१३ पछि कान्छा शेर्पा सगरमाथाको पहिलो सफल आरोहण दलका अन्तिम जीवित सदस्य बनेका थिए। उनी नेपालको पर्वतारोहण इतिहासका साक्षी र अग्रणी शेर्पामध्ये एक मानिन्छन्।