नेपाली सेनाले भन्यो-‘जेन‍जी आन्दोलनमा मृत्यु भएका ७६ मध्ये २२ जना मात्रै प्रदर्शनकारी हुन्’

दियोपोस्ट संवाददाता  

काठमाडौं। नेपाली सेनाले गत भदौ २३ र २४ गते भएको जेन‍-जी आन्दोलनमा मृत्यु भएका २२ जना मात्रै प्रदर्शनकारी भएको जनाएको छ। नेपाली सेनाका युद्ध कार्य विभागका प्रमुख उपरथी अनुपजंग थापाले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा ७६ जना मध्ये २२ जना मात्रै प्रदर्शनकारी भएको बताएका हुन् ।

आन्दोलनका क्रममा २२ प्रदर्शनकारी, तीन प्रहरी, १० कैदी र अन्य ४१ जनाको मृत्यु भएको उनले बताए । सो अवसरमा ४८४ स्थानमा आन्दोलन भएको उनले बताए ।

नियमित पत्रकार सम्मेलनका क्रममा उपरथी थापाले ६८८ वटा सरकारी कार्यालय, २५९ वटा निजी निवास, १२८ वटा व्यापारिक प्रतिष्ठान, १९८ वटा राजनीतिक दलका कार्यालय, ३०७ वटा प्रहरी कार्यालयमा आगजनी तथा तोडफोड भएको बताए ।

यस्तै आन्दोलनका क्रममा १५ हजार ५८८ जना कैदीबन्दी भागेकामा हालसम्म ८ हजार ७९९ जनालाई पुनः नियन्त्रणमा लिइएको सेनाको भनाइ छ ।

उपरथी थापाले आन्दोलनका क्रममा ९७८ थान हतियार हराएकोमा ५८६ वटा फिर्ता गराइएको समेत जानकारी दिए ।