
काठमाडौं । काग तिहारको अवसरमा कलाकार रमेश दुलाल ‘कागे’ले राजधानीको नारायणहिटी दरबार सङ्ग्रहालयद्वारा अगाडि २२औँ ‘काग सम्मेलन’ सम्पन्न गरेका छन्। प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिन यमराजका दूतका रूपमा कागलाई पूजा आराधना गरी मनाइने यो पर्व आज पनि देशभर उल्लासपूर्वक मनाइँदैछ।
बिहान सूर्योदयकालमै सुरु भएको कार्यक्रममा दुलालले आफ्नो विशिष्ट कला प्रस्तुत गर्दै कागको आवाज नक्कल गरेलगत्तै कागहरू स्वयम् आकाशबाट उड्दै सम्मेलनस्थलमा भेला भएका थिए। कार्यक्रममा टप राजधानी रोधी तथा ग्रीनसिटी अस्पताल, वसुन्धरा सहआयोजक थिए ।
दुलालले १७३ प्रकारका जनावर र चराचुरुङ्गीका आवाज नक्कल गर्ने क्षमता राख्छन्। मुखकै सहायताले उनले मादल, सनाई, सारङ्गी, पियानो, ड्रम सेट, मुर्चुङ्गा र गितारजस्ता वाद्ययन्त्रका धुन निकाल्ने अद्भुत कला पनि प्रस्तुत गरे।
उनका अनुसार, “काग तिहारको दिन काग सम्मेलन गर्न थालेको २२ वर्ष भयो। यसपटक भने मैले शुद्ध सांस्कृतिक उद्देश्यका साथ यो सम्मेलन आयोजना गरेको हुँ।” विगतका वर्षहरूमा उनले रत्नपार्क, विमानस्थल परिसर र शान्ति बाटिकाजस्ता स्थानहरूमा पनि सामाजिक सन्देशसहित ‘काग सम्मेलन’ गर्दै आएका थिए।
कागलाई यमराजका दूतका रूपमा पूजा गर्ने वैदिक परम्पराअनुसार आज बिहान घरघरमा दही–भात जस्ता मीठा परिकार अर्पण गरी कागलाई खुसी पार्ने चलन रहिआएको छ। यमराज समक्ष शुभसन्देश पुगोस् भन्ने विश्वासका साथ आजको दिनलाई विशेष धार्मिक महत्त्व दिइन्छ।
कार्यक्रममा सहभागी दर्शकहरूले कलाकार दुलालको यस प्रयासलाई धार्मिक परम्पराको संरक्षण र जनचेतना अभिवृद्धिको प्रतीकात्मक पहल भन्दै प्रशंसा गरेका थिए।