ढुक्कसँग बत्ती बालेर तिहार मनाउन सर्वसाधारणलाई ‘विद्युत् प्राधिकरण’को आग्रह

दियोपोस्ट संवाददाता

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले यस वर्षको तिहार पर्वमा देशभर लोडसेडिङ नहुने स्पष्ट गर्दै उपभोक्ताहरूलाई निश्चिन्त भई बत्ती बालेर चाडपर्व मनाउन अनुरोध गरेको छ । उज्यालोको पर्वका रूपमा चिनिने तिहारमा विद्युत् आपूर्तिमा कुनै समस्या नपर्ने प्राधिकरणले जनाएको हो ।

प्राधिकरणका अनुसार तिहारको समयमा अधिकांश उद्योगधन्दा बन्द रहने भएकाले औद्योगिक क्षेत्रमा खपत हुने ठूलो परिमाणको बिजुली बचत हुनेछ, जसलाई घरायसी प्रयोगका लागि सहज रूपमा उपलब्ध गराइनेछ ।

प्राधिकरणका प्रवक्ता राजन ढकालका भनाइअनुसार, “तिहारको लक्ष्मी पूजाको दिन विद्युत् खपत उच्च हुने भए पनि उद्योगहरू बन्द हुने भएकाले समग्र प्रणालीमा लोड घट्नेछ । हाल त बिजुली उत्पादन प्रशस्त छ, त्यसैले उपभोक्ताले निश्चिन्त भएर प्रयोग गर्न सक्ने अवस्था छ ।”

उनका अनुसार प्राविधिक कारणबाहेक अन्य कुनै कारणले बत्ती नजाने भएकाले उपभोक्ताले ढुक्क रहन सक्नेछन् । प्राधिकरणको अनुमान अनुसार तिहारमा उद्योगहरू बन्द हुँदा दैनिक करिब २०० देखि ३०० मेगावाटसम्म बिजुली बचत हुनेछ, जसले घरायसी उपभोक्ताका लागि पर्याप्त आपूर्ति सुनिश्चित गर्नेछ ।

विद्युत् आपूर्तिमा कुनै पनि प्रकारको प्राविधिक समस्या आउन नदिन प्राधिकरणले आफ्ना प्राविधिकहरूलाई उच्च सतर्कतामा रहने निर्देशन दिएको छ । कुनै स्थानमा फल्ट भए तत्काल मर्मतका लागि विशेष टोलीहरू तयारी अवस्थामा राखिने बताइएको छ ।

विगतका वर्षहरूमा लक्ष्मी पूजाको दिन विद्युत् माग बढेर करिब १६ सय मेगावाटसम्म पुगेकोमा, यस वर्ष पनि त्यही हाराहारीमा माग रहने अनुमान गरिएको छ । सामान्यतया तिहारका साँझ ६ बजेदेखि ९ बजेसम्म विद्युत् खपत ३० देखि ४० प्रतिशतसम्म वृद्धि हुने प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार हाल नयाँ प्रसारण लाइन विस्तार, सबस्टेसन स्तरोन्नति तथा पूर्वाधार सुधारका काम निरन्तर जारी छन् । यिनै प्रयासका कारण यस वर्षको तिहारमा विद्युत् आपूर्ति झनै भरपर्दो र स्थिर हुने विश्वास प्राधिकरणले व्यक्त गरेको छ ।