
काठमाडौँ । आज कुकुर तिहार ! देशभर कुकुरको पुजा गरी भक्तिभावपूर्वक मनाइँदैछ। आजका दिन कुकुरप्रति श्रद्धा, सम्मान र कृतज्ञता व्यक्त गर्दै तिनको पूजा गरिन्छ।
हिन्दू धर्मावलम्बीहरूले कुकुरलाई यमदूतको प्रतीक मान्ने परम्परा रहिआएको छ। धार्मिक विश्वास अनुसार कुकुरले यमराजका दूतको रूपमा मृत्युपछिको बाटो देखाउने मान्यता छ। त्यसैले आजको दिन कुकुरलाई विशेष सम्मानसहित पूजा गरेमा मृत्युपछि सहज बाटो मिल्ने र शुभ फल प्राप्त हुने जनविश्वास रहेको छ।
यस दिन बिहानै कुकुरलाई स्नान गराइ, माला, टिका र मिठा परिकारहरू खुवाउने चलन छ । घरपालुवा कुकुर मात्र होइन, सडकमा रहेका कुकुरलाई समेत खाना खुवाउने प्रचलन छ।
कुकुरको निधारमा रातो टिका लगाइन्छ र गलामा फूलको माला लगाइन्छ, जसले तिनीहरू प्रती मानवको प्रेम, सहानुभूति र कृतज्ञता प्रकट गर्छ।
कुकुर तिहारलाई नेपालमा मानव र जनावरबीचको आत्मीय सम्बन्धको प्रतीकका रूपमा पनि लिइन्छ। यो पर्वले ‘जीवनका सबै रूपहरूसँग सहअस्तित्व’ को सन्देश दिन्छ।
कुकुरलाई बफादार जनावरका रुपमा लिइन्छ । कुकुर तिहारले धर्म, संस्कृति र करुणाको सन्देश बोकेर नेपाली समाजमा मानवता र सहजीवनको मूल्यलाई अझ सबल बनाइरहेको छ।


POST PHOTO/KIRAN PANDAY/KANTIPUR