
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की छोरी गंगा दाहालले आफ्ना बिरुद्ध ‘कुप्रचार भएको भन्दै प्रचण्डको सचिवालयबाट राजीनामा दिएकी छन्।
गंगाले सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेको वक्तव्यमा पछिल्लो समयमा आफूलाई लक्षित गरेर सञ्चार माध्यममा आएका विभिन्न भ्रामक समाचारले गम्भीर ध्यानाकर्षण भएको बताएकी छन्। उनले भाइ प्रकाश दाहालको निधनपछि आमा सीता दाहालको स्वास्थ्य अवस्था कमजोर रहेको समयमा सचिवालयको जिम्मेवारी लिएको उल्लेख गरेकी छन्।
उनले भनेकी छन्, ‘मम्मी बिरामी हुनुभएको र भाइ प्रकाशले निभाउँदै आएको भूमिकामा रहँदै बुवालाई सहयोग गर्न पार्टी नेताहरूको सल्लाहमा सचिवालयमा जिम्मेवारी लिएकी हुँ। यो अवधिभर मैले निस्वार्थ भावले पार्टी, आन्दोलन र बुवाको लागि सकेको सहयोग गरेकी हुँ।’
आफूले कहिल्यै स्वार्थका लागि काम नगरेको तर निरन्तर गलत बुझाइ र आरोपको सिकार भएको उनले गुनासो गरेकी छन्। ‘यो ठाउं त्यस्तो रहेछ, जति राम्रो गर्न खोजे पनि विवादमा त परिनै पर्ने रहेछ,’ उनले लेखेकी छन्।
हालै विभिन्न मिडियामा आफूले महँगो ब्याग र घडी प्रयोग गरेको भन्दै आलोचना भएपछि उनले ती दाबीहरु सत्य नभएको बताएकी छन्। ‘एक लाख पर्ने घडी वा ब्याग मैले जिन्दगीमा कहिल्यै किनिन। साथीहरूले दिएको उपहार थियो, त्यो पनि अहिले जलेर खरानी भइसकेको छ,’ उनको भनाइ छ।
गंगाले आफूविरुद्ध भइरहेको प्रचारले बुबा प्रचण्ड र पार्टीमाथि नै प्रत्यक्ष आक्रमण भइरहेको उल्लेख गर्दै सचिवालयबाट बाहिरिने निर्णय लिएको बताइन् ।
उनले भनिन्, ‘यस्तो अवस्थामा सचिवालयको जिम्मेवारीबाट बाहिरिदा नै बुवा, पार्टी र आन्दोलनका लागि राम्रो होला भन्ने निस्कर्षमा पुगेकी छु।’
उनले सचिवालयबाट राजिनामा दिएपनि पार्टीप्रति आफ्नो निष्ठा कायम रहने उल्लेख गर्दै आजीवन पार्टीमा सक्रिय रहने प्रतिबद्धता जनाएकी छन्। सचिवालयमा रहँदा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्दै उनले दीपावली, छठ र नेपाल संवतको अवसरमा शुभकामना पनि दिएकी छन्।
