इजरायलमा मारिएका विपिन जोशीको पार्थिव शरीर नेपाल ल्याइयो, प्रधानमन्त्री कार्कीद्वारा श्रद्धाञ्जली व्यक्त

दियोपोस्ट संवाददाता  

काठमाडौं । इजरायलमा ज्यान गुमाएका कञ्चनपुरका विपिन जोशीको पार्थिव शरीर नेपाल ल्याइएको छ । जोशीको पार्थिव शरीर सोमबार दिउँसो २ः ३५ बजे काठमाडौँ ल्याइएको हो ।

शव इजरायलबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याए पछि श्रद्धाञ्जली अर्पण गरिएको थियो । श्रद्धाञ्जली कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्कीले विपिनप्रति श्रद्धाञ्जली अर्पण गरिन् ।

प्रधानमन्त्री कार्कीले सम्बोधन गर्दै विपिनसहित इजरायलमा परेका नेपाली युवाहरूले भोगेको पीडा र संघर्ष शब्दमा बयान गर्न नसकिने बताइन् । उनले भनिन्, ‘हमासको आक्रमणका बेला ती युवाहरूले भोगेको भय, अपहरणको पीडा र मनको कष्ट हामी यहाँबाट अनुभूत गर्न सक्दैनौं।’

प्रधानमन्त्री कार्कीले विपिनलाई केवल आमाको मात्रै होइन, सिंगो देश र हरेक नेपाली आमाको छोरोका रूपमा सम्झिन् । उनले भनिन्, ‘विपिन हाम्रा लागि एउटा मात्र व्यक्ति होइन, सम्पूर्ण नेपाली युवाको प्रतीक हुन् । उसको संघर्ष, हिम्मत र साहस सधैं हामीले सम्झिरहनेछौं ।’

उनका अनुसार विपिन सशरीर अब छैनन्, तर उनका योगदान र बलिदानले उनलाई सधैं अमर बनाएको छ । ‘विपिन अब पनि हामीभित्र जीवित छन्, उनको नाम र साहस कहिल्यै मर्ने छैन,’ उनले भनिन् ।

२०२३ अक्टोबर ७ मा हमासको आक्रमणका क्रममा किबुत्ज क्षेत्रमा बन्धक बनिएका विपिनको मृत्युको पुष्टि इजरायली अधिकारीहरूले गत असोज २७ गते गरेका थिए । युद्धविराम सम्झौतापछि बन्दी साटासाटको क्रममा हमासले विपिनको शव इजरायली सेनालाई हस्तान्तरण गरेको थियो ।

डीएनए परीक्षण र फरेन्सिक रिपोर्टबाट शव विपिनकै भएको पुष्टि भएको इजरायलस्थित नेपाली दूतावासले जनाएको छ । शव नेपाल ल्याउनुअघि आइतबार तेल अवीवस्थित खटिभा–८ स्मारक र बेनगुरिएन विमानस्थलमा पनि श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिएको थियो ।

विपिनको पार्थिव शरीर आजै उनका परिवारलाई बुझाइने र अन्त्येष्टि कञ्चनपुरस्थित घरमै गर्ने तयारी गरिएको छ ।

सिफारिस