तकाइची बनिन् जापानको पहिलो महिला प्रधानमन्त्री

दियोपोस्ट संवाददाता  

काठमाडौँ । लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी)की सदस्य सनेई तकाइची जापानको पहिलो महिला प्रधानमन्त्री बनेकी छन् । जापानको दुवै सदनमा भएको निर्वाचनमा बहुमत प्राप्त गर्दै उनी प्रधानमन्त्री बनेकी हुन् ।

पूर्वप्रधानमन्त्री शिन्जो आबेकी नजिककी राजनीतिक शिष्य समेत रहेकी ६४ वर्षीया तकाइचीले मंगलबार ४६५ सदस्यीय संसद्को तल्लो सदनमा २३७ मत प्राप्त गर्दै प्रधानमन्त्री पदमा निर्वाचित भएकी हुन् ।

तेस्रो प्रयासमा सफलता प्राप्त गरेकी उनी एक दक्षिणपन्थी नेतृ हुन् । उनी जापानमा ‘आइरन लेडी’ का रूपमा चिनिन्छिन् । सत्तारूढ लिबरल डेमोक्रेटिक पार्टीकी सक्रिय नेतृ समेत रहेकी तकाइची यसअघि मन्त्री पदमा रहेकी थिइन् ।

राजनीतिमा प्रवेश गर्नु अघि उनी टेलिभिजन होस्ट र हेभी मेटल ड्रमर समेत थिइन् । उनको विजय एलडीपी र दक्षिणपन्थी जापान इन्नोभेशन पार्टी (जेआईपी)बीच अन्तिम समयमा भएको गठबन्धन सम्झौतापछि सम्भव भएको बताइन्छ ।

यद्यपि दुई दलको गठबन्धन भए पनि संसदमा दुई सिटको बहुमत नपुग्दा राजनीतिक अस्थिरताको जोखिम अझै कायम रहेको विश्लेषकहरूको भनाई छ ।

तकाइचीले निवर्तमान प्रधानमन्त्री शिगेरु इशिबाको स्थान लिएर पदभार सम्हालेकी हुन् । जुलाईमा एलडीपी पराजित भएपछि तीन महिनादेखि जारी राजनीतिक अनिश्चितताको अन्त्य गर्दै जापानमा नयाँ सरकार गठन भएको हो ।

यो घटना जापानको राजनीतिक इतिहासमा महिलाको नेतृत्व उदय भएको एक ऐतिहासिक मोडका रूपमा हेरिएको छ ।

एलडीपीले पछिल्लो पाँच वर्षमा चौथो पटक नयाँ प्रधानमन्त्री चयन गरेको हो । पछिल्ला वर्षहरूमा यो पार्टी विभिन्न घोटालाका आरोपमा आलोचनाको केन्द्रमा रहेको छ ।

अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले समेत तकाइचीको प्रशंसा गर्दै भनेका छन्, ‘उनी एक सम्मानित र बुद्धिमान नेतृ हुन्।’

प्रधानमन्त्री बनेकी तकाइचीका अगाडि अर्थव्यवस्थामा पुनः गति ल्याउने, अमेरिका–जापान सम्बन्ध सुदृढ पार्ने र सत्तारूढ दलभित्र एकता कायम राख्ने चुनौतीहरू रहेका छन् ।

 

सिफारिस