काठमाडौँ । जेन-जी आन्दोलनका घाइतेहरूले प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्दै पाँच बुँदे मागहरू अघि सारेका छन्। प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका घाइतेहरुले भेटका क्रममा आफ्ना माग राखेका हुन् ।
घाइते प्रतिनिधि रुपिन खड्काका अनुसार, आन्दोलनका क्रममा गोली प्रहार गर्नेहरूलाई कारबाही गर्न, संविधानमा सुधार ल्याउन, आन्दोलनको संरक्षण गर्न, र भ्रष्टाचारको छानबिन गर्न माग गरिएको छ।
‘हामीले पाँच बुँदे मागहरू तुरुन्त सम्बोधन गर्न आग्रह गरेका छौं,’ खड्काले भने। घाइतेहरुका माग पूरा गर्न सरकारलाई अल्टिमेटम समेत दिइएको उनले बताए ।
सो अवसरमा प्रधानमन्त्री कार्कीले आन्दोलनको मर्मभन्दा बाहिर नजाने र सरकारलाई प्राप्त म्यान्डेट अनुसार अघि बढ्ने प्रतिबद्धता जनाइन्। उनले भनिन्, ‘हामी जेनजी आन्दोलनको मर्मलाई सम्मान गर्दै कानुनी सीमाभित्र रही काम गर्छौं। सरकारलाई दिइएको जिम्मेवारीअनुसार अघि बढ्छौं।’
कार्कीले तोकिएको समयमा चुनाव हुने र भ्रष्टाचारको छानबिन जारी रहेको बताइन्। उनका अनुसार, राज्यका निकायहरूले तीव्र गतिमा अनुसन्धान गरिरहेका छन्।
‘चुनाव पनि समयमै हुन्छ, भ्रष्टाचारको अनुसन्धान पनि हुन्छ,’ प्रधानमन्त्री कार्कीले भनिन्, ‘राज्यका निकायहरूले आफ्नो जिम्मेवारीअनुसार काम गरिरहेका छन्। तपाईंहरू पनि आवाज उठाइराख्नुहोस्, हामीमाथि दबाब दिन नछाड्नुहोस्। नतिजा चाँडै देखिनेछ।’