
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय तथा पूर्वसंसदीय दलका नेतासँग आज साँझ बालुवाटारमा महत्वपूर्ण राजनीतिक छलफल गर्दैछिन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार उक्त बैठकमा कुल १० दलका नेताहरू सहभागी भएका छन् । ।
वर्तमान राजनीतिक परिस्थितिलाई समन्वयपूर्वक अघि बढाउने र आगामी राजनीतिक एजेन्डामा साझा समझदारी बनाउ राजनीतिक दलका नेताहरुसंग छलफल गर्न लागिएको प्रधानमन्त्री सचिवालय स्रोतले जनायो ।
छलफलका लागि राष्ट्रिय मान्यताप्राप्त दलहरूसँगै निवर्तमान संसदमा प्रतिनिधित्व गरेका दलका शीर्ष नेताहरूलाइ निमन्त्रणा गरिएको बताइएको छ।
नेपाली कांग्रेसबाट महामन्त्री गगन थापा र प्रवक्ता डा. प्रकाशशरण महत, नेकपा (एमाले)बाट महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवाली सहभागी हुनेछन् ।
त्यसैगरी नेकपा (माओवादी केन्द्र)बाट पम्फा भुसाल र वर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टीबाट डा. स्वर्णिम वाग्ले र सोविता गौतम उपस्थित हुनेछन्।
त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट महामन्त्री राजेन्द्र गुरुङ र प्रवक्ता मोहन श्रेष्ठ, जनता समाजवादी पार्टी नेपालबाट अध्यक्ष उपेन्द्र यादव र प्रकाश अधिकारी, लोकतान्त्रिक समाजवादी पार्टीबाट सर्वेन्द्रनाथ शुक्ल, नागरिक उन्मुक्ति पार्टीबाट रेशम चौधरी, नेपाल मजदुर किसान पार्टीबाट प्रेम सुवाल तथा जनमत पार्टीबाट चन्दनकुमार सिंह सहभागी हुने बताइएको छ ।
बैठकमा पर्यवेक्षकका रूपमा केदारभक्त माथेमा र विद्याधर मल्लिकलाई समेत आमन्त्रण गरिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।
छलफलको उद्देश्य वर्तमान राजनीतिक परिस्थितिलाई समन्वयपूर्वक अघि बढाउने र आगामी राजनीतिक एजेन्डामा साझा समझदारी बनाउने रहेको बुझिएको छ।





