
काठमाडौं । शुसिला कार्की नेतृत्वको अन्तरिम सरकारमा चार मन्त्रीहरु थपिने भएका छन् । सरकार बनेको झण्डै डेढ महिनापछि आज चार मन्त्री थपिन लागेका हुन् ।
आज थपिने मन्त्रीहरुमा स्वास्थ्य मन्त्रालयका पूर्व सचिव तथा प्रसूति रोग विषेशज्ञ डा. सुधा शर्मा गौतम, सम्पदा संरक्षण अभियन्ता गणपति लाल श्रेष्ठ, दलित अभियन्ता तथा अधिकारकर्मी खगेन्द्र सुनार र सामाजिक अभियन्ता बब्लु गुप्ता छन् ।
गौतमलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, सुनारलाई श्रम तथा रोजगार मन्त्रालय, गुप्तालाई युवा तथा खेलकुद मन्त्रालय र श्रेष्ठलाई भूमिसुधार मन्त्रालयको जिम्मेवारी दिने निर्णय भएको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार चार जना मन्त्रीहरुको नाम राष्ट्रपति कार्यालयमा पठाइएको छ ।
मन्त्रीहरूको शपथ साढे २ बजे हुने भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा मन्त्रीहरूको शपथको तयारी भइरहेको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ ।