काठमाडौँ । कार्तिक शुक्ल षष्ठी अर्थात् छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई विधिपूर्वक पूजा आराधना गरी अर्घ्य दिइँदैछ । बिहानै स्नान गरी दिनभर निराहार व्रत बसेका व्रतालुहरूले साँझ सूर्यलाई अर्घ्य दिने परम्परा छ ।
कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व शनिबारदेखि सुरु भएको हो । ऐतिहासिक महाभारतका अनुसार द्रौपदीसहित पाँच पाण्डवले अज्ञातवास सफल होस् भनी सूर्यदेवको आराधना गरेका थिए, जसबाट यो पर्वको परम्परा सुरु भएको जनविश्वास छ ।
सूर्य पुराणअनुसार अत्रिमुनिकी पत्नी अनुसूयाले सर्वप्रथम छठ व्रत गरेकी थिइन्, जसका फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् । त्यसैबेलादेखि ‘छठ पर्व’ मनाउने चलन सुरु भएको विश्वास पाइन्छ ।
सूर्यको ऊर्जा र किरण मानव जीवनका लागि अनिवार्य मानिन्छ । सूर्य किरणबाट अनेक रोगहरूको उपचार हुने मान्यता छ । साम्ब पुराणमा वर्णन भएअनुसार, श्रीकृष्णका पुत्र साम्बले सूर्यको आराधना गरेर कुष्ठरोगबाट मुक्ति पाएका थिए । त्यसैले छठ पर्वमा व्रत गरे दुःख, दरिद्रता र रोगबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास रहेको छ ।
कार्तिक शुक्ल चतुर्थीका दिन स्नान गरी एक छाक मात्र भोजन गर्ने, पञ्चमीका दिन ‘खरना’ गरी खीर चढाई प्रसाद ग्रहण गर्ने र षष्ठीका दिन पूर्ण निराहार व्रत बस्ने परम्परा छ । आजको दिन व्रतालुहरूले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर पूजा गर्छन् भने भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि पर्वको समापन हुन्छ ।
धार्मिक विश्वासअनुसार, कार्तिक शुक्ल पक्षमा सूर्यलाई अर्घ्य दिएमा चर्मरोग लाग्दैन । एक समय तराई क्षेत्रमा सीमित यो पर्व अहिले राष्ट्रिय पर्वको रूपमा स्थापित भएको छ । विसं २०४६ पछि सरकारले यस दिनलाई सार्वजनिक बिदा घोषणा गरेको हो ।
राजधानी काठमाडौँमा गुह्येश्वरीदेखि गौरीघाट, कमलपोखरी, वागमती, नख्खु र विष्णुमती नदी किनारसम्म छठ पर्वका लागि विशेष सजावट गरिएको छ । व्रतालुहरू चोखो खानपान, शुद्धता र सात्विक आचरणमा बस्दै यो पर्व श्रद्धा र भव्यतासाथ मनाउँदै छन् ।