नेकपाले सार्वजनिक गर्यो जनसंघर्षका कार्यक्रम, कात्तिक २० गते काठमाडौँमा विशाल जनसभा

दियोपोस्ट संवाददाता  

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (विप्लव समूह) ले कात्तिक २० गतेसम्मका लागि विभिन्न जनसंघर्षका कार्यक्रमहरू सार्वजनिक गरेको छ । असोज २५ देखि ३० गतेसम्म कपिलवस्तुमा बसेको केन्द्रीय समितिको विशेष बैठकले आगामी आन्दोलनका चरणहरू तय गरेको हो ।

बैठकको निर्णयअनुसार कात्तिक १३ गतेसम्म देशभर भित्ते लेखन अभियान सञ्चालन हुनेछ । यस अवधिमा पार्टीले ‘सर्वपक्षीय अन्तरिम सरकार गठन गर’, ‘भ्रष्टाचारको निष्पक्ष छानबिन गर’, “उच्चस्तरीय छानबिन आयोग गठन गर’, ‘भ्रष्टाचारीमाथि कारबाही गर्न विशेष न्यायालय गठन गर’, ‘अग्राधिकारसहितको समाजवाद निर्माण गर’, ‘दलाल प्रवृत्तिका गैरसरकारी संस्थाहरू खारेज गर’, ‘युवाहरूका लागि रोजगारीको ग्यारेन्टी गर’ जस्ता नारा अघि सारेको छ ।

यस्तै, बैठकले कात्तिक १५ गते देशभर मसाल जुलुस आयोजना गर्ने, कात्तिक १७ गते विरोध प्रदर्शन र कोणसभा गर्ने तथा कात्तिक २० गते राजधानी काठमाडौँमा बृहत् जनसभा आयोजना गर्ने निर्णय गरेको छ ।

नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले कात्तिक २० गते हुने जनसभामा स्वाधीनता र समाजवादका पक्षधरहरूलाई सहभागी हुन आह्वान गरेका छन् । उनले देशको परिवर्तन बाह्य शक्तिबाट नभएर स्वदेशी जनशक्तिबाट सम्भव हुने बताएका छन् ।

उनले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्, ‘नेपाललाई अरूले होइन हामी आफैंले परिवर्तन गर्ने हो । जब भ्रष्ट, कमिसनखोर, तस्कर, दलाल र परजीवीहरू समाप्त हुनेछन्, तब मात्र देशले आत्मसम्मानका साथ उन्नति गर्न सक्छ । स्वाधीनता र समाजवादको पक्षमा उभिन कात्तिक २० गते काठमाडौँमा भेटौँ साथीहरू ।’

सिफारिस