किष्ट अस्पतालमा सुत्केरीको ‘मृत्यु’पछि प्रहरी र मृतकका आफन्तबीच झडप

दियोपोस्ट संवाददाता  

काठमाडौँ । किष्ट अस्पतालमा सुत्केरी महिलाको मृत्यु भएपछि आइतबार राति अस्पताल परिसर तनावग्रस्त बनेको छ। चिकित्सकको लापरबाहीका कारण ३४ वर्षीया मिनाश्री राईको ज्यान गएको भन्दै उनका आफन्त तथा स्थानीयले अस्पताल अगाडि तीव्र प्रदर्शन गरेका हुन्।

प्रदर्शन उग्र बनेपछि प्रदर्शनकारीले अस्पतालको गेट भत्काउँदै तोडफोड र ढुंगामुढा समेत गरेका थिए। स्थिति नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज र अश्रुग्यास प्रहार गरेको थियो। अस्पताल तनावग्रस्त भएपछि अस्पताल परिसरमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालित छन्।

प्रदर्शनकारीहरूले ‘किष्ट अस्पताल बन्द गर’, ‘दोषी चिकित्सकलाई कारबाही गर’ र ‘मिनाश्री राईलाई न्याय दे’ लेखिएका प्लेकार्डसहित नारा लगाउँदै न्याय मागेका छन्।

मृतककका दाजु देवेन्द्र राईका अनुसार मिनाश्री राई सुत्केरी हुने मिति नजिकिँदै गएपछि शुक्रबार बिहान ९ बजे अस्पताल पुगेकी थिइन्। तर साँझसम्म पनि प्रसव व्यथा सुरु नभएपछि राति इन्टर्न चिकित्सकहरूले जबरजस्ती नर्मल डेलिभरी गराउने प्रयास गर्दा अत्यधिक रगत बगेर उनको ज्यान गएको आफन्तको दाबी छ।

देवेन्द्रका भनाइ अनुसार, ‘मिनाश्रीले गर्भावस्थामा नियमित रूपमा यही अस्पतालमा जाँच गराएकी थिइन्। स्वास्थ्य अवस्था राम्रै थियो, तर इन्टर्न डाक्टरले सिकाइका लागि प्रयोग गरेझैं व्यवहार गर्दा उनको मृत्यु भयो।’

अत्यधिक रक्तश्राव भएपछि अस्पतालले दुई पटकसम्म अपरेसन गरेको नाटक गरेको र सिनियर चिकित्सकको उपस्थितिबिना नै उपचार चलाएका अकारण राइको ज्यान गएको पीडित परिवारको भनाई छ ।

मृतकका आफन्तले अस्पताल प्रशासनसँग घटना स्पष्ट गर्न माग गरे पनि, वार्ताको प्रयास विफल भएपछि प्रदर्शन चर्किएको बताइएको छ। प्रहरी प्रशासनले भने भिड नियन्त्रणका लागि आवश्यक बल प्रयोग गर्नुपरेको जनाएको छ।

किष्ट अस्पताल प्रशासनले घटनाबारे मृतकका आफन्तसँग वार्ता भइरहेको र विस्तृत विवरण पछि सार्वजनिक गरिने जानकारी दिएको छ।

सिफारिस