काठमाडौं। जेनजी आन्दोलनपछिको आगजनी र तोडफोडका कारण डेढ महिनादेखि निष्क्रिय रहेको सर्वोच्च अदालतको वेबसाइट सोमबारदेखि सञ्चालनमा ल्याइएको छ । सोमबारदेखि पूर्ण रूपमा सञ्चालनमा ल्याइएको हो ।
सर्वोच्च अदालतको सूचना–प्रविधि महाशाखाका अनुसार भदौ २४ गतेको तोडफोडअघि जस्तो अवस्थामा वेबसाइट र सूचना प्रणाली थियो, अहिले त्यसै अवस्थामा फर्किएको छ।
तोडफोडपछि अदालत कागजी रूपमा मात्रै चलिरहेको र अहिले त्यसपछिका सूचना तथा विवरणहरू अपलोड गर्ने तयारी भइरहेको सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले जानकारी दिए ।
सर्वोच्च अदालतले आफ्नो र मातहतका अदालतहरूको न्यायिक कार्यका लागि प्रयोग गर्ने मुद्दा व्यवस्थापन प्रणाली (केस म्यानेजमेन्ट सिस्टम) समेत आगजनीपछि बन्द भएको थियो।
आगजनीमा सर्वोच्च भवनको माथिल्लो तलामा रहेको सूचना–प्रविधि कक्षमा क्षति पुगेकाले सिएमएस र वेबसाइट दुबै प्रभावित भएका थिए।
अदालत खुलेको केही सातापछि वेबसाइट सञ्चालनमा ल्याइएको भए पनि सबै डाटा हराएका थिए। त्यसपछि हेटौडामा रहेको ब्याकअप सेन्टरमार्फत आवश्यक डाटा रिकभर गरी वेबसाइट पूर्णरूपमा सञ्चालनमा ल्याइएको प्रवक्ता कोइरालाले जानकारी दिए।
उनका अनुसार सर्वोच्च अदालतका अधिकांश कामहरू डिजिटल प्रणालीमा आधारित छन् । मुद्दासम्बन्धी विवरण, पेशी मिति तथा फैसला अनलाइनमार्फत हेर्न सकिन्छ। वेबसाइट बन्द हुँदा मुद्दाका पक्षहरू प्रत्यक्ष प्रभावित भएका थिए।
हाल तोडफोडअघि सम्मका सबै विवरणहरू रिकभर भइसकेका र सम्भावित त्रुटी सुधार गर्ने काम जारी रहेको कोइरालाले बताए। साथै, सर्वोच्चसँग सम्बन्धित विशेष, उच्च र जिल्ला अदालतका वेबसाइट र सूचना प्रणाली पनि क्रमशः सञ्चालन गर्ने तयारी भइरहेको उनले जानकारी दिए।
प्रवक्ता कोइरालाका अनुसार, वेबसाइटमा राखिएका विवरणबाहेक अदालतमा मात्र रहेका कागजात वा फाइलहरू भने स्वचालित रूपमा रिकभर नहुने भएकाले ती फाइलहरूका लागि अदालतले छुट्टै कार्यविधि तयार पारेको छ।