
झापा । रामेछापको मन्थलीबाट काँकरभिट्टा जाँदै गरेको रात्रिबस दुर्घटना हुँदा १९ जना यात्रु घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्गमा प्र १–०१-००१ क ४२०९ नम्बरको बस अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल पल्टिँदा दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार घाइते १९ जनालाई उपचारका लागि बिर्तासिटी अस्पताल, बिर्तामोड पठाइएको छ भने बाँकी ६ जना यात्रु सकुशल घर फर्किएका छन् ।
घाइतेमध्ये बस चालक झापा मेचीनगर–६ का ३९ वर्षीय राजु भुजेल, झापा गाउँपालिका-३ की १७ वर्षीया इक्षा लिम्बू, कचनकवल-४ का २० वर्षीय रविलाल गणेश र सोही स्थानकी २१ वर्षीया परिना गणेश, बिर्तामोड-१० की ३६ वर्षीया सिमित्रा खड्का कार्की तथा उनका नौ वर्षीय छोरा एलोन रहेका छन् ।
त्यस्तै, रामेछाप मन्थलीका ६५ वर्षीय अम्बरबहादुर बुढाथोकी, ३५ वर्षीय भीमप्रसाद पुरी, खाँडादेवी-३ की ६५ वर्षीया मिटु खत्री, दोलखा बैनेश्वर-३ का ३० वर्षीय प्रदीपबहादुर बस्नेत, रामेछाप देउरालीकी आठ वर्षीया अनु श्रेष्ठ र दोलखा तामाकोशी-३ का २८ वर्षीय कुमार बस्याल पनि घाइते भएका छन् ।
यस्तै, झापा कचनकवल-६ की २७ वर्षीया भेमा राजवंशी, बिर्तामोड-५ का ३५ वर्षीय रामकुमार श्रेष्ठ, उनका नौ वर्षीय छोरा रिदम, सोही स्थानका २३ वर्षीय पूर्णबहादुर नेपाली, १८ वर्षीया शितल नेपाली, बाह्रदशी-५ का २१ वर्षीय अभिषेक राजवंशी र झापा गाउँपालिका-२ का १८ वर्षीय श्यमलाल किस्कु घाइते भएका छन् ।
प्रहरीका अनुसार सबै घाइतेको अवस्था सामान्यदेखि मध्यम रहेको र घाइतेको उपचार भइरहेको छ । प्रारम्भिक अनुसन्धानअनुसार बस अनियन्त्रित भई पल्टिएको बताइएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
बसमा करिब २५ जना सवार रहेको प्रहरीको भनाई छ ।