
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पूर्ण माओवादी शक्तिहरु एउटै झण्डामुनि एकताबद्ध हुन आग्रह गरेका छन् । मंगलबार सामाजिक संजाल फेसबुक मार्फत आफ्नो अभिव्यक्ति सार्वजनिक गर्दै अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन् ।
उनले देशमा देखा परेका जटिल राजनीतिक अवस्था, जनअपेक्षा, राष्ट्रिय स्वाधीनता र लोकतन्त्रमाथि उत्पन्न चुनौती समाधान गर्न वामपन्थी तथा लोकतान्त्रिक शक्तिबीच एकता र सहकार्य अपरिहार्य भएको बताएका छन्। ‘राष्ट्रिय स्वाधीनता, संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र समाजवाद निर्माणको आधार तयार पार्न माओवादी सहितका वामपन्थी शक्तिहरूले एकता र साझा आन्दोलनमार्फत अघि बढ्नु आजको आवश्यकता हो,’ उनले भनेका छन् ।
अध्यक्ष प्रचण्डले राष्ट्रले भोगिरहेका समस्या र संकटहरूको समाधान अग्रगामी क्रान्तिकारी विचार, प्रतिबद्ध संगठन र इमानदार राजनीतिक पहलकदमीबाट मात्रै सम्भव रहेको बताए ।
त्यसका लागि देशभक्त, प्रगतिशील र वामपन्थी शक्तिहरूबीच संगठनात्मक ध्रुवीकरण र लोकतान्त्रिक शक्तिहरूबीच राष्ट्रिय सहकार्य आवश्यक भएको उनको भनाई छ ।
माओवादीसहितका सबै वामपन्थी शक्तिहरूलाई एकता र साझा आन्दोलनमार्फत अघि बढ्न आह्वान गर्दै, संविधानको रक्षा, समुन्नत लोकतन्त्रको विकास र राष्ट्रिय स्वाधीनताका लागि सबै गणतान्त्रिक शक्तिलाई राष्ट्रिय एकताको साझा मोर्चामा गोलबन्द हुन उनले आग्रह गरे ।
उनले देशका सबै माओवादी धाराका कार्यकर्ताहरू एउटै झण्डामुनि एकताबद्ध हुन अपिल गरेका छन्।