राजधानीमा वर्षा, हिमाली भूभागमा हिमपातको संभावना

दियोपोस्ट संवाददाता

काठमाडौँ । देशमा हाल पश्चिमी वायुको प्रभावसँगै अरब सागरमा विकसित भएको न्यून चापीय प्रणालीको असर देखिएको छ । यसको प्रभावका कारण राजधानी काठमाडौँ लगायत देशभर सामान्य बदली रहेको छ भने गण्डकी र बागमती प्रदेशका केही स्थानमा छिटपुट वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

वर्षासंगै राजधानीमा चिसो बढेको छ । दिउँसोतिर गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै बाँकी पहाडी भूभागमा सामान्य बदली रहनेछ। तराईका क्षेत्रहरूमा आंशिक बदली रहने अनुमान गरिएको छ।

त्यस्तै, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा मध्यम वर्षासहित हिमपातको सम्भावना छ भने बाँकी प्रदेशका पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा पनि वर्षा र हिमपात हुन सक्ने सम्भावना रहेको छ। मौसम पूर्वाअनुमान महाशाखाका अनुसार गण्डकी प्रदेशका उच्च पहाडी क्षेत्रमा भने भारी वर्षासहित हिमपात हुने सम्भावना रहेको छ।

राति बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका साथै अन्य पहाडी भूभागहरूमा पनि सामान्य बदली रहनेछ भने तराई भूभागमा आंशिक बदली रहने अपेक्षा गरिएको छ। गण्डकी प्रदेशका केही स्थानमा, बागमती, लुम्बिनी र कर्णालीका हिमाली भूभागहरूमा मध्यम वर्षा र हिमपातको सम्भावना रहेको बताइएको छ।

गण्डकी प्रदेशका उच्च हिमाली क्षेत्रमा भारी वर्षा र हिमपातको सम्भावना भएकाले त्यहाँको दैनिक जनजीवन, कृषि, पर्यटन तथा पर्वतारोहण गतिविधिमा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।