एमालेका पूर्वसांसद तथा ‘प्रभु ग्रुप’का सञ्चालक देवी प्रकाश भट्टचन ठगी मुद्धामा पक्राउ

दियोपोस्ट संवाददाता  

काठमाडौँ । नेकपा एमालेका पूर्वसांसद तथा ‘प्रभु ग्रुप’का सञ्चालक देवी प्रकाश भट्टचन सहकारी ठगी, जालसाजी र विश्वासघातको आरोपमा पक्राउ परेका छन् । लामो समयदेखि लुकिछिपी बसेका भट्टचनलाई बिभिन्न ब्यक्तिले दायर गरेको मुद्धाका आधारमा महानगरीय अपराध अनुसन्धान ब्यूरोको टोलीले मंगलबार ललितपुरको गोदावरी नगरपालिका–३, टौखेलबाट पक्राउ गरेको हो ।

प्रभु मनि ट्रान्सफर प्रा.लि.का अध्यक्षसमेत रहेका भट्टचनलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ अन्तर्गतको कसूरमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । भट्टचनमाथि देशभरका सहकारी संस्थाबाट उठाइएको ९७ करोड ३७ लाखभन्दा बढी रकम अपचलनको आरोप लागेको प्रहरीको भनाई छ ।

भट्टचनले सहकारीबाट उठाएको उक्त रकम फिर्ता नगरेको बताइएको छ । त्यति मात्र होइन, भट्टचनले ‘प्रभु मनी ट्रान्सफर’को नाममा गैरीधारास्थित प्रभु म्यानेजमेन्ट कम्पनीमार्फत सहकारीहरुसँग ‘सदस्यता शुल्क’ र ‘धरौटी’ का नाममा ३ लाखदेखि ५ लाखसम्म रकम असुली गरेको पाइएको छ ।

प्रभु मनि ट्रान्सफर नामक कम्पनीले नेपाल राष्ट्र बैंकबाट रेमिट्यान्स कारोबारको लाइसेन्स प्राप्त गरी प्रभु म्यानेजमेन्ट प्रा.लि. १ पुष २०६९ मा ‘सुपर एजेण्ट’को रूपमा सम्झौता गरेको थियो । उक्त सम्झौताअनुसार देशभरका विभिन्न सहकारी संस्थामार्फत् विदेशमा रहेका नेपालीहरूको विप्रेषण रकम वितरण हुँदै आएको थियो ।

जसअन्तर्गत रेमिट्यान्स सेवा दिने नाममा गैरकानुनी रूपमा ‘सुपर एजेन्ट’ कम्पनी स्थापना गरी उक्त रकम प्रभु ग्रुपसंग सम्वन्धित विभिन्न व्यवसाय प्रभु बैंक, डिस होम, सिम टिभी, र पर्यटन कम्पनीहरूमा लगानी गरिएको सहकारीहरूको आरोप छ ।

तर, प्रभु म्यानेजमेन्ट प्रा.लि.का तर्फबाट तत्कालीन प्रबन्ध निर्देशक कुसुम लामाले सहकारीहरूलाई रकम वितरणगर्न सम्झौता गरे पनि, सो रकम प्रभु मनि ट्रान्सफर प्रा.लि.बाट सहकारी संस्थाहरूमार्फत भुक्तानी नगरी भट्टचनसहितले रकम हिनामिना गरेको आरोप लागेको थियो ।

हाल ‘प्रभु म्यानेजमेन्ट’ कम्पनी टाट पल्टिएको छ भने भट्टचन र उनको परिवारमाथि ठगी, जालसाजी र विश्वासघातको उजुरी दर्ता भएका छन् । तर, उनी सांसद भएकै कारण अनुसन्धान अघि नबढेको पीडितहरूको भनाइ छ ।

नेपाल राष्ट्र बैंकले पनि प्रभु म्यानेजमेन्टलाई नियमनबाहिरको कम्पनी भन्दै ‘सुपर एजेन्ट’को गतिविधि गैरकानुनी ठहर गरेको छ । सहकारीहरू अहिले कानुनी उपचारका लागि लडिरहेका छन् ।

भट्टचनमाथि देशभरका तीन दर्जनभन्दा बढी सहकारी संस्थाहरूबाट उजुरी परेपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो । उक्त प्रकरणमा काठमाडौं जिल्ला अदालतले उनका नाममा पक्राउ पुर्जी जारी गरेको थियो ।
नेपाल राष्ट्र बैंक विप्रेषण विनियमावली–२०७९ अनुसार कम्पनीहरूले आफैं वा आधिकारिक सव–एजेण्टमार्फत भुक्तानी गर्नुपर्ने व्यवस्था विपरीत भट्टचन र लामा नेतृत्वको संस्थाले काम गरेको प्रमाण फेला परेपछि महानगरीय अपराध अनुसन्धान ब्यूरोले उनलाई पक्राउ गरी थप अनुसन्धान जारी राखेको जनाएको छ ।

कांग्रेस महाधिवेशन प्रतिनिधि समेत रहेका भट्टचन एमालेले सांसद बनाउने भए पछि एमालेमा प्रवेश गरेका थिए । पक्राउ परेका भट्टचनलाई कानुन बमोजिम आवश्यक कारबाही अघि बढाइने प्रहरीले जनाएको छ ।

सिफारिस