आज पनि केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

दियोपोस्ट संवाददाता

काठमाडौँ । देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव रहेकाले आज देशका विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको हिमाली र पहाडी भू-भागमा सामान्यतया बादल लाग्ने तथा तराईका भूभागमा आंशिक बादल लाग्नेछ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू-भागका थोरै स्थानमा वर्षाको सम्भावना छ । त्यस्तै, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

देशका तराई भू-भागका एक-दुई स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ।

त्यसैगरी, राति देशको हिमाली तथा पहाडी भू-भागमा आंशिक बादल लाग्ने र तराईका अधिकांश स्थानमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ । तराईका केही भू-भागमा बिहानपख हुस्सु लाग्न सक्नेछ।

राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

सम्बन्धित खबर

सिफारिस