जनकपुर बोल्ट्सको पहिलो जित, काठमाण्डु गोर्खाज ८ विकेटले पराजित

दियोपोस्ट संवाददाता

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज भएको पहिलो खेलमा जनकपुर बोल्ट्सले काठमाण्डु गोर्खाजलाई ८ विकेटले पराजित गरेको छ । काठमाण्डु गोर्खाजले दिएको ११६ रनको लक्ष्य जनकपुरले १७ ओभर २ बलमा २ विकेट गुमाएर पूरा गरेको हो ।

पहिले ब्याटिङ गरेको काठमाण्डु गोर्खाजले १९ ओभर ३ बलमा सबै विकेट गुमाउँदै ११५ रन बनाएको थियो । काठमाण्डुका लागि भीम सार्कीले सर्वाधिक ३३ रन बनाए । यस्तै, रशिद खानले १७ र स्मित पटेलले १३ रन जोडे ।

जनकपुरका बलर राहुल यादवले ४ ओभरमा ३१ रन खर्चेर ४ विकेट लिए । सैफ हसनले २ विकेट लिँदा मोइन अली, ललित राजवंशी र हरमीत सिंहले समान १ विकेट हात पारे ।

११६ रनको लक्ष्य पछ्याएको जनकपुरका लागि मोइन अली र सैफ हसनले उत्कृष्ट ब्याटिङ गरे । मोइनले ५१ बलमा २ चौका र ३ छक्काको मद्दतले अविजित ५८ रन बनाए । त्यस्तै, सैफ हसनले ३९ बलमा १ चौका र ३ छक्कासहित अविजित ४२ रन जोडे ।

काठमाण्डुका रिपन मण्डलले १ विकेट लिए पनि टोलीलाई हारबाट जोगाउन सकेनन् ।

जनकपुरले प्रतियोगितामा पहिलो जित निकालेको हो । यसअघि आफ्नो पहिलो खेलमा जनकपुर कर्णाली याक्ससँग १९ रनले पराजित भएको थियो ।

एनपीएलअन्तर्गत आजको दोस्रो खेलमा साँझ ५ बजे विराटनगर किंग्स र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुनेछ ।

सम्बन्धित खबर

सिफारिस