
काठमाडौँ । बंगालको खाडीमा विकसित शक्तिशाली ‘अर्नब’ चक्रवातको प्रभाव नेपालमा देखिन थालेको छ । यसको प्रभावले आज देशभर दिनभरजसो मौसम बदली हुने र केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ ।
जल तथा मौसम विज्ञान विभागकी वरिष्ठ मौसमविद् विभूति पोखरेलका अनुसार देशका धेरै स्थानमा हल्का वर्षा हुने सम्भावना छ भने केही स्थानमा बेलुकादेखि हल्कादेखि मध्यम वर्षा हुन सक्छ ।
उनका अनुसार भारी वर्षाको सम्भावना भने थोरै स्थानमा मात्रै रहेको छ । उच्च पहाडी तथा हिमाली भूभागमा बेलुकादेखि हिमपात हुन सक्ने भएकाले विशेष सतर्कता अपनाउन उनले आग्रह गरेकी छन् ।
बिहीबार बेलुकादेखि शनिबारसम्म उच्च पहाडी तथा हिमाली क्षेत्रमा विशेष सतर्कता अपनाउनुपर्ने मौसमविद् पोखरेलले बताइन् । यस अवधिमा अन्य भूभागमा पनि हल्कादेखि मध्यम वर्षा हुन सक्ने उनको भनाइ छ ।
‘आज लगभग देशभरि बदली नै हुने देखिन्छ । केही ठाउँमा हल्का वर्षाको सम्भावना रहन्छ । बेलुका भने थोरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुन सक्छ भने उच्च हिमाली तथा पहाडी भूभागमा हिमपातको सम्भावना छ,’ उनले भनिन् ।
मौसममा हुने परिवर्तनलाई ध्यानमा राख्दै पोखरेलले पाकिसकेको धान तत्काल नकाट्न किसानलाई सुझाव दिएकी छन् । मौसम सफा भएपछि आइतबारदेखि मात्रै धान काट्न उपयुक्त हुने उनले बताइन् ।
चक्रवातको प्रभावका कारण मौसममा परिवर्तन हुन सक्ने भएकाले उच्च पहाडी तथा हिमाली क्षेत्रमा यात्रा गर्ने र कृषि कार्यमा संलग्न हुनेहरूले मौसमको अवस्थाबारे जानकारी लिएर आवश्यक सतर्कता अपनाउनुपर्ने देखिन्छ ।