
काठमाडौँ । फिक्सर इनम सापकोटा सर्वोच्च अदालतकै न्यायाधीश हरिप्रसाद फुयालको उजुरीको आधारमा पक्राउ परेको खुलेको छ । बिहीबार न्यायाधीश फुयालले केही न्यायिक पत्रकारहरूसँग भेटघाट गरी आफ्नै उजुरीका आधारमा इनम पक्राउ परेको खुलाएका हुन् ।
सर्वोच्च अदालतमै बिहीबार अपराह्न केही पत्रकारहरूसँग कुराकानी गर्दै न्यायाधीश फुयालले आफूले गरेको उजुरी पछि मात्रै इनम पक्राउ परेको खुलाएका हुन् । सुरुमा आफूलाई प्रधानमन्त्रीको मान्छे भन्दै चिनाएका सापकोटाले पछि केही मुद्दामा दबाब दिन थालेपछि आफूले प्रधानमन्त्रीको सचिवालयमा उजुरी दिएको फुयालले बताए । त्यसको दुई तीन दिनमै सापकोटा पक्राउ परेको समेत फुयालले बताएका छन् ।
फुयालले इनमसँग आफ्नो भेट एक पारिवारिक व्यक्तिको माध्यमबाट भएको र त्यति बेला इनमले आफूलाई अमेरिकी दूतावासको मान्छे र प्रधानमन्त्री बालेन्द्र शाहको मान्छे पनि चिनाएका थिए । त्यसबाहेक उनले अर्को दूतावास, नेपाली सेनाका प्रधानसेनापति र प्रधानन्यायाधीश मनोजकुमार शर्माको समेत खास व्यक्ति भन्दै चिनाएका थिए ।

कतिपय गोप्य कुराहरू पनि ल्याएर सुनाउने गरेपछि आफूलाई उतैको व्यक्ति होलान् भन्ने लागेको र सुरुसुरुमा उनले न्यायिक शुद्धीकरण लगायतका विषयमा कुरा गर्ने गरेको बताए ।
फुयालले भने, ‘सुरुको दुई महिना जति त सधैँ राम्रो कुरा नै गर्थे, न्यायिक शुद्धीकरण, कानुनी राज्यको कुरा गर्दथे । अनि अमेरिका के चाहन्छ, भारत के चाहन्छ र प्रधानमन्त्री के चाहन्छन् भन्ने लगायतका कुरा र सूचनाहरू ल्याउने गरेका थिए, त्यति बेला उनी त्यतैको व्यक्ति होलान् भन्ने लागेको थियो ।’
मुद्दामा चासो राखेपछि शंका
न्यायाधीश फुयालका अनुसार इनमले अन्य न्यायाधीशसँग पनि सम्पर्क बनाएका थिए । न्यायाधीश हरि फुयालको बेन्चमा परेको एउटा मुद्दामा इनमले प्रतिवादी बनाइएका व्यक्तिलाई थुनामै राख्नुपर्ने भन्दै प्रधानमन्त्रीले त्यही चाहेको कुरा गरेका थिए । तर गुप्ता थरका ती व्यक्तिलाई थुनामै राख्ने आधार नभएपछि न्यायाधीश हरिप्रसाद फुयाल र श्रीकान्त पौडेलको इजलासले २ करोड धरौटी माग गरेको थियो ।

त्यसको भोलिपल्ट नै इनमसँग होटेल हिमालयमा भेट भएको र त्यहाँ सर्वोच्च अदालतकै अन्य केही न्यायाधीश पनि सहभागी रहेको फुयालले बताए । उक्त भेटमा इनमले प्रधानमन्त्री तपाईँहरूसँग असन्तुष्ट हुनुहुन्छ भन्दै धम्काएको समेत फुयालले बताए ।
उक्त दिनको बिल तिर्नुपर्नेमा अर्कै व्यक्तिको नाममा बिल राख्न लगाएपछि आफूलाई इनमबारे शंका लाग्न थालेको फुयालले बताए ।
त्यसपछि बुझ्दै जाँदा इनम प्रधानमन्त्रीको मान्छे नभएको, अमेरिकी दूतावास वा अन्य दूतावाससँग पनि सम्बन्धित व्यक्ति नभएको र मुद्दाहरूमा र मुख्यतः आर्थिक कारोबारसँग जोडिएको मुद्दामा चासो देखाउन थालेपछि आफ्नै उजुरीका आधारमा इनम पक्राउ परेको उनले दाबी गरे ।
उनले पत्रकारहरूसँग भने, ‘जब इनम बिचौलिया रहेको वा गडबड लाग्यो, त्यसपछि प्रधानमन्त्रीकै सचिवालयका व्यक्तिसँग कुराकानी भयो र मैले नै सूचना र प्रमाणहरू दिएर उनलाई नियन्त्रणमा लिइएको हो । तर यहाँ त मलाई नै भिक्टिम बनाइयो ।’
फुयालले भने, ‘जब पछि दीपक भट्टलाई छाड्न प्रधानमन्त्रीको निर्देशन छ भन्दै छाड्न दबाब दिए, त्यसपछि हामीलाई धेरै नै शंका लागेर खोजिबिन सुरु गरेको हो । त्यसपछि उनी प्रधानमन्त्रीका मान्छे होइनन् भन्ने थाहा भयो र उजुरी गरेको हो । मेरो उजुरी लगत्तै उनी पक्राउ परेका हुन् ।’