सर्वोच्चका न्यायाधीशलाई धम्काउँदै इनम भन्थे, ‘प्रधानन्यायाधीश नै मैले बनाएको हो, सहयोग गर्नुहोस्’

मदन ढुङ्गाना

काठमाडौँ । फिक्सर इनम सापकोटाले प्रधानन्यायाधीश नै आफूले बनाएको भन्दै सर्वोच्चका अन्य न्यायाधीशहरुलाई दबाबमा राख्ने प्रयास गरेको खुलेको छ । बिहीबार सीमित सञ्चारकर्मीसँग कुराकानी गर्दै सर्वोच्चका न्यायाधीश हरिप्रसाद फुयालले इनम आफूहरूकै उजुरीका आधारमा पक्राउ परेका बताएका थिए ।

आफू र इनमबिचको ह्वाट्सएप कुराकानीको केही अंश बाहिरिएपछि न्यायाधीश फुयालले सर्वोच्च अदालत परिसरमै केही सञ्चारकर्मीसँग कुराकानी गरेका थिए । कुराकानीका क्रममा न्यायाधीश फुयालले इनमबारे पहिलो सूचना र उजुरी नै आफूले दिएको भन्दै आफूलाई नै गलत देखाउन खोजिएको भन्दै दुख व्यक्त गरे ।

न्यायाधीश फुयालका अनुसार बिचौलिया इनम सापकोटाले सुरुमा आफूलाई प्रधानमन्त्री बालेन्द्र शाहको सहयोगीका रूपमा चिनाएका थिए । त्यसबाहेक आफू अमेरिकी दूतावास र भारतीय दूतावासको समेत मान्छे रहेको, आर्मी चिफ र प्रधानन्यायाधीश मनोजकुमार शर्माको समेत खास व्यक्ति भएको दाबी गर्ने गरेका थिए ।

सर्वोच्चका न्यायाधीशहरूसँग भेटघाट गर्दै सुरु सुरुमा इनमले प्रधानन्यायाधीश मनोजकुमार शर्मालाई सहयोग गर्न दबाब दिने गरेका थिए । भेटका क्रममा प्रधानन्यायाधीश नै आफूले बनाएको समेत दाबी गर्ने गरेका थिए ।
प्रधानन्यायाधीशसँगको सम्पर्क र सम्बन्ध भनेपछि आफूहरूले पनि इनम प्रधानमन्त्रीकै वा कुनै विदेशी एजेन्ट रहेको हुनसक्ने अनुमान गरेको फुयालले बताए ।

तर पछि कतिपय मुद्दाहरूमा चासो राख्दै कसैलाई थुनिदिन वा कसैलाई छाडिदिन दबाब दिन थालेपछि इनमबारे खोजिबिन सुरु गरिएको फुयालले बताए । कानुसम्मतरुपमा सरकारलाई सहयोग पुग्ने विषयमा आदेश वा फैसला हुँदा पनि प्रधानमन्त्री ज्यू रिसाउनुभएको छ लगायतका कुरा गर्न थालेपछि शंका लागेर खोजिबिन गरेको र इनम प्रधानमन्त्रीको मान्छे नभएको खुलेको फुयालले बताए । इनमले प्रधानमन्त्रीको नाम बेचेर बिचौलियाको काम गरेको थाहा पाएपछि सर्वोच्चका न्यायाधीशहरुले नै इनमबारे प्रधानमन्त्री कार्यालयमा उजुरी गरेको फुयालले बताए ।

यति बेला इनम सापकोटा प्रहरीको हिरासतमा छन् र उनीमाथि अनुसन्धान भइरहेको छ । सुरुमा पूर्व प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराका बिचौलियाका रूपमा काम गरेको कारण पक्राउ गरिएको भनिए पनि अनुसन्धानका क्रममा इनमले पूर्व एआइजी एवम् रास्वपाका सांसद विश्वराज पोखरेल, प्रधानन्यायाधीश मनोजकुमार शर्मा, सशस्त्र प्रहरीका एआइजी वंशीराज दाहाल लगायतको नाममा रकम जम्मा गर्नेसम्मको सन्देशहरू पठाएको पाइएको छ । उक्त सन्देश बाहिरिएसँगै प्रधानन्यायाधीश शर्मा, सांसद पोखरेल, आइजिपी दान बहादुर कार्की, एआइजी राजन अधिकारी लगायतका उच्चपदस्थ व्यक्तिहरू समेत विवादमा तानिएका छन् ।

 

सम्बन्धित खबर

सिफारिस