न्यायाधीश फुयालले इनमको विषय आइजिपीलाई बताए, आइजिपीले ‘माथिको मान्छे हो, बि केयरफूल’ भने

मदन ढुङ्गाना

काठमाडौँ । अदालतहरूमा बिचौलियाको काम गरेको आरोप लागेका इनम सापकोटा पक्राउ पर्नुमा सर्वोच्च अदालतका न्यायाधीशहरूकै उजुरी रहेको खुलेको छ । बिहीबार सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालले केही पत्रकारहरूसँग कुराकानी गर्दै इनमलाई पक्राउ गर्न आफूहरूले नै उजुरी र जानकारी दिएको बताए ।

सुरुमा आफूलाई प्रधानमन्त्री बालेन्द्र शाह, अमेरिकी दूतावास, भारतीय दूतावास, प्रधानसेनापति र प्रधानन्यायाधीशको मान्छे भन्दै चिनाएका इनमले पछि मुद्दाका विषयमा कुरा गर्न थालेपछि आफूहरूले नै उजुरी गरेको फुयालले बताए ।

रुमा न्यायपालिका शुद्धीकरण, कानुनको शासन आदि विषयमा राम्रो कुरा गर्ने गरेका इनमले पछि प्रधानमन्त्रीको चासो छ भन्दै केही मुद्दाहरूमा हस्तक्षेप गर्न थालेपछि शंका लागेर आफूहरूले नै सो को जानकारी दिएको फुयालले बताएका छन् ।

न्यायाधीश फुयालका अनुसार सुरुमा इनम भन्ने व्यक्ति को हुन्, उनको भूमिका के हो भन्ने सम्बन्धमा नेपाल प्रहरीका महानिरीक्षक दान बहादुर कार्कीलाई नै सर्वोच्च अदालतमा बोलाएर सोधिएको थियो । इनमले मुद्दाहरूमा अनावश्यक हस्तक्षेप गर्न थालेको कुरा सर्वोच्चकै न्यायाधीशहरुले आइजिपी कार्कीलाई जानकारी गराएका थिए ।

आदेश गरेको भोलिपल्ट म लगायत केही न्यायाधीशले होटेल हिमालयमा इनमलाई भेटेका थियौँ, त्यहाँ उनले प्रधानमन्त्री तपाईँहरूसँग रिसाउनुभएको छ, महाभियोग पनि लाग्न सक्छ भन्दै ठुलो स्वर गरेका थिए

इनमको तस्बिर, उनले प्रयोग गर्ने मोबाइल नम्बर, पठाइएका म्यासेज आदि सबै आइजिपी कार्कीलाई देखाएर उनी सरकारको मान्छे हुन् कि होइनन् भन्ने बारेमा बुझ्न भनिएको थियो । त्यसको दुई दिनपछि आइजिपी दानबहादुर कार्कीले इनम माथिको मान्छे भएको पत्ता लागेको भन्दै न्यायाधीशहरुलाई बि केयरफूल भन्ने खबर पठाएका थिए । बि केयरफूल भन्नुको अर्थ उनको बारेमा धेरै खोजीनिती नगर्नु भन्ने आशयको खबर आएको न्यायाधीश फुयालले बताए ।

तर इनमले आर्थिक विषय जोडिएका मुद्दाहरूमा अनावश्यक हस्तक्षेप गर्न थाल्ने, कसैलाई थुनिदिन वा कसैलाई छाडिदिन आग्रह गर्न थालेपछि उनीप्रति शंका लागेको न्यायाधीश फुयालले बताए ।

उनले सञ्चारकर्मीसँग भने, ‘सुरुमा त हामीलाई उनी प्रधानमन्त्री कै मान्छे हो भन्ने लागेको थियो । प्रधानमन्त्रीले खटाएको मान्छे हो भन्ने सुनेपछि हामीलाई पनि सूचना आदानप्रदान गर्न सजिलो हुन्छ भन्ने लागेर कुराकानी गरिएको थियो । तर दीपक भट्टलाई छाड्न भनेपछि बल्ल हामीलाई शंका लागेर खोजिबिन थालेको हो ।’

फुयालले अगाडि भने, ‘नेपाल प्रहरीले ‘माथिको मान्छे हो, बि केयरफूल’ भने पनि हामीलाई शंका लागेपछि हामी केही न्यायाधीशले सेनाका मान्छेमार्फत प्रधानसेनापतिकहाँ कुरा पुराएका थियौँ । इनमले आफू सेनाको समेत व्यक्ति वा प्रतिनिधि भएको दाबी गर्ने भएकाले के हो भनेर बुझ्न खोज्दा सेनाले नचिन्ने बतायो । त्यसपछि प्रधानसेनापति ले नै चासो राखेर भेट्नु खोज्नुभएपछि हामीले प्रधानसेनापतिलाई पनि भेटेका थियौँ । त्यसपछि सेनाले यो मान्छे प्रधानमन्त्रीको मान्छे पनि होइन, दूतावासको मान्छे पनि होइन भन्ने सूचना दियो । अनि बल्ल म आफलै प्रधानमन्त्रीको सचिवालयलाई इनमले पठाएका म्यासेज, गरेका कुराकानी, मुद्दामा दिएको दबाब र प्रधानमन्त्री बालेनको नाम लिएको सन्देशहरू सहित जानकारी गराएको हुँ । अनि त्यसको दुई तीन दिनमा इनम पक्राउ परेका हुन् ।’

इनमले रोहित गुप्तालाई थुनामै राख्न आफूलाई म्यासेज पठाएको उनले स्वीकार गरे । तर विधिभन्दा बाहिर जान नमिल्ने र उनलाई थुनामै राख्नुपर्नेसम्मको अवस्था नदेखिएको कारण इनमले भनेभन्दा फरक आदेश गरेपछि इनमले आफूसँग ठुलो स्वर गरेको समेत फुयालले बताए ।

फुयालले भने, ‘त्यो आदेश गरेको भोलिपल्ट म लगायत केही न्यायाधीशले होटेल हिमालयमा इनमलाई भेटेका थियौँ, त्यहाँ उनले प्रधानमन्त्री तपाईँहरूसँग रिसाउनुभएको छ, महाभियोग पनि लाग्न सक्छ भन्दै ठुलो स्वर गरेका थिए ।’

सम्बन्धित खबर

सिफारिस