
काठमाडौँ । क्रिप्टोकरेन्सी कारोबार र अनलाइन सट्टेबाजीमा संलग्न रहेको आरोपमा प्रहरीले धनुषाका एक युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धनुषाको सबैला नगरपालिका-१२ का २८ वर्षीय सुनिलकुमार यादव रहेका छन् । उनले बाइनान्स एपमार्फत २ अर्ब १६ करोड रुपैयाँभन्दा बढीको कारोबार गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुमा यादवले बाइनान्स एप प्रयोग गरी ठूलो रकमको अवैध क्रिप्टो कारोबार तथा अनलाइन सट्टेबाजी गराउने गरेको विशेष सूचना प्राप्त भएको थियो । उक्त सूचनापछि प्रहरीले निगरानी र प्राविधिक विश्लेषण अघि बढाएको थियो ।
अनुसन्धानका क्रममा यादवको बाइनान्स आईडीबाट २ करोड ६९ लाख ९१ हजार ३८८ अमेरिकी डलर बराबरको कारोबार भएको खुलेको प्रहरीले जनाएको छ । प्रति अमेरिकी डलर १५१ रुपैयाँ ५३ पैसाका दरले हिसाब गर्दा उक्त रकम नेपाली रुपैयाँ २ अर्ब १६ करोड १ लाख २० हजार ८२१ हुन्छ ।
जिल्ला प्रहरी कार्यालय, धनुषाको समन्वयमा पक्राउ गरिएका यादवलाई थप अनुसन्धानका लागि काठमाडौँ ल्याइएको हो ।
प्रहरीले उनीविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद-५ अन्तर्गत दफा १२५ मा उल्लेखित जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने कसुर तथा दफा २६२(क) १ अन्तर्गत अभौतिक मुद्राको प्रयोग गर्न नहुने कसुरमा मुद्दा अघि बढाएको छ ।
यादवमाथि थप अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालत, बबरमहलबाट म्याद थप गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।