काठमाडौँ, असोज १४ । प्रतिनिधि सभाका सभामुख कृष्ण बहादुर महराविरुद्ध जबरजस्ती करणीको आरोप लगाउने महिलाले आफ्नो बयान फेरेकी छिन् । ‘नागरिकखबर टिभी’ नामक युट्युब च्यानलमा दिएको अन्तरवार्तामा उनले आफुमाथि सभामुख महराले कुनैपनि किसिमको जबरजस्ती नगरेको बताएकी छिन् । उनै महिलाले अन्तरवार्ताको क्रममा भनेका कुराहरुलाइ हामीले यहाँ जस्ताको तस्तै साभार गरेका छौँ ।
नमस्कार ! मेरो नाम रोशनी शाही । घर जाजरकोट । म सरकारी कर्मचारी पनि हुँ । संसद सचिवालयको स्वास्थ्य इकाईमा काम गर्छु । सभामुख कृष्णबहादुर महरासँग मेरो नाम जोडेर मिडियामा जे आयो त्यो सत्य होइन । हुँदै नभएको कुरा पनि मिडियामा आएको रहेछ । त्यतिसम्मका संवेदनशील कुराहरुलाई नलेखिदिएको भए हुन्थ्यो ।
सभामुख महरा ज्यु मेरोमा आउनु नै भएको छैन । संचारमाध्यमहरुले महरा सर मेरोमा आएको भनेर लेखिएको रहेछ त्यो झुठ हो । उहाँसँग औपचारिक रुपमा भेटसमेत भएको छैन । संसद सचिवालयमा कहिलेकाहीँ स्वास्थ्य परिक्षण गर्दा देखभेट मात्र हुन्थ्यो । कहिलेकाँही फोनमा कुरा हुन्थ्यो ।
उहाँ मेरो बाबुसरहको मानिस । उमेर पनि बाबुसरहकै छ, त्यसैले म पनि उहाँलाई आफ्नो बाबुलाई गर्ने सम्मान गर्छु । यदि बाबु छोरीको सम्वन्धमा कसैले शंका गर्छ र औँला उठाउँछ भने त्यसमा मेरो लिनुदिनु छैन । पवित्र सम्वन्धमा जसले शंका गरेर प्रश्न गर्छ नतिजा पनि उसैले भोग्छ ।
मलाई डिप्रेसनको समस्या पनि छ । औषधी सेवन गरिरहेकी छु । केही समय अगाडी कर्मचारी समायोजन भएको थियो । मेरो समायोजन बागमतीको धेरै दुर्गम भेगमा भएको छ । त्यसमा मिलाइदिनका लागि मैले सभामुख ज्यूलाई आग्रह गरेको थिएँ । उहाँले हुन्छ भन्नुभएको थियो तर हुन्छ हुन्छमै त्यो कुरा सकियो । उहाँले कुनै पहलकदमी गर्नुभएन । मलाई अत्यन्तै रिस उठ्यो । उहाँबाट कुनैपनि सानातिना कामहरु पनि नहुने भएपछि उहाँबाट आशा राख्ने बाटो कहाँ त ? अविभावकसँग नै हो आशा राखिने, दुनियाँसंग मलाई के को मतलव ? प्रमुख व्यक्ति नै त्यही हुनुहुन्छ भने हामी किन टाढा जानु ? त्यही सोचेर मैले उहाँसंग आफ्नो सरुवाको विषयमा कुरा राख्थेँ । फोनबाट पनि भनेँ । धेरै पटक यसै विषयलाई लिएर मैले उहाँसँग झगडा पनि गरेँ । मैले भन्नु नभन्नु समेत भनेँ ।
‘हाम्रै टाउकोमा टेकेर तपाईँहरु यहाँसम्म आउनुभयो, ठाउँमा आएपछि हजुरहरुले पनि त आफ्नो लागि कसले कत्तिको गरेको छ भनेर मुल्यांकन गरिदिनु पर्ने हो । यतिजाबो सानो कुरा पनि हुँदैन भने हजुरबाट हामीले अरु के आशा गर्ने त ?’ भनेर मैले उहाँसंग धेरै पटक विवादसमेत गरेको छु ।
भाँचिएको चस्मा र जुत्ताको विषयलाई लिएर गरिएका मिडियाबाजीहरु पनि भ्रम हुन् । चस्मा म पनि लगाउँछु, मेरो हस्बेण्डले पनि लगाउनुहुन्छ, उहाँको पनि फुटेको होला नि ! जुत्ता मेरो पनि छ । जुत्ता भएको ठाउँमा तलुवा हुनु आश्चर्यजनक कुरा होइन । तोडमोड गरेर भ्रमपुर्ण ढंगका समाचार मिडियामा आए ।
सभामुखमाथि सुनियोजित ढंगले आरोप लगाइएको हो । उहाँलाई पदच्युत गरेर त्यो पदमा आफु बस्नका लागि गरिएको ग्राण्ड डिजाइन हो । नत्र त बाबु छोरी संगै बसेर कुरा गर्न हुँदैन भन्ने छ र ? त्यसो हो भने कोही बाबु पनि आफ्नी छोरीसंग बोल्नै नहुने भन्न खोजिएको हो ? अर्कातर्फ आउँदै नआएको मानिसलाई पनि आएको भनेर ब्लेम लगाइएको छ । यी सबै सुनियोजित ढंगले उहाँलाई फसाउने प्रपञ्च हो । फेसबुक मैले हिँजोमात्र हेरेकी थिएँ, यतिसम्मको झुठ प्रचारबाजी भइरहेको छ भन्ने कुरा पछि थाहा पाएँ ।
मलाई प्रभाव पारको मेरै रिस र आवेगले हो, अन्य कुनै वाह्य शक्तिका कारण होइन । म मिडियामा पुगेको होइन, मिडिया म भएको ठाउँमा आएको हो । त्यो मिडिया मेरोमा कसरी आयो ? ती मिडियाका मानिसहरुले मेरो कोठा कसरी देखे ? मै अचम्ममा परेँ । कि त पहिल्यैदेखि नै मेरो पिछा गरेको हुनुपर्यो ।
ती मिडियाका व्यक्ति आएर मसंग थोरै कुरा गर्छु भन्नुभयो । त्यतिबेला म पनि अल्लि फरक स्थितिमा थिएँ । औषधीहरु पनि लिँदै थिए । त्यही दिन चाहीँ औषधी पनि हाइ डोज भएछ । औषधी लिएर म सुतिराखेको थिएँ, त्यतिनै बेला ढोका बज्यो । घरबेटीहरु पनि कोही थिएनन् , उहाँहरुले आफु ढिला हुने भन्दै ढोका नलगाउन आग्रह गरेका थिए ।
ढोकाको घण्टी बजेपछि मैले उठेर हेरेँ । एकजना केटा मान्छे हुनुहुन्थ्यो । ‘कसलाई खोज्नु भयो भनेर प्रश्न गरेँ । तपाईँ रोशनी शाही हो ? भन्दै ती व्यक्तिले प्रतिप्रश्न गरे । मैले सोजो ढंगले आफु नै रोशनी शाही भएको बताउँदै ती व्यक्तिलाई मेरो कोठामा आउनुको कारण सोधेँ । त्यसपछि ढोका खोलेर भित्र पसेर मसँग थोरै कुरा गर्न मिल्छ कि मिल्दैन भनेर सोध्यो । मलाई उहाँ कुन विषयमा कुरा गर्न आउनुभएको भन्ने बारेमा थाहा थिएन । सोझो ढंगले मिल्छ भनिदिएँ ।
ती ब्यक्तिले ट्याब र मोबाइल ल्याएका थिए । तपाईँको बारेमा मलाई एकजना दिदीले पठाउनु भएको भन्दै उनले कुरा गर्न थाले । को दिदी ? मैले प्रश्न गरेँ । उहाँले नाम बताउनु भएन । दिदीले पठाउनु भएको मात्र भन्नुभयो । मैले उहाँलाई पटकपटक कहाँबाट आउनु भएको र कसले पठाएको भन्दै सोधेँ । तरपनि उहाँले परिचय खुलाउनु भएन ।
ती ब्यक्तिले थोरै समय लिगेर म तपाईँसँग कुरा गर्छु भन्यो । मैले विषय सोधेँ । उनले घुमाउरो पारामा यहाँ यस्तो यस्तो भएको छ सत्य के हो भन्दै सोध्यो । मैले प्रष्ट भन्न आग्रह गरेँ । उनले सभामुखले ममाथि यौन दुव्र्यवहार गरेको हल्ला चलेको र त्यसको वास्तविकताबारे बोल्नका लागि आग्रह गरे । ‘कसले सुनायो यस्तो कुरा ?’ मैले प्रश्न गरेँ । उनले दिदीबाहेक अन्य परिचय खुलाएनन् ।
उनले के के भयो भनेर मलाई सोधे । मैले केही पनि नभएको र सभामुख ज्यू यहाँ नआएको कुरा बताइदिएँ । आउँदै नआएको मान्छेलाई मैले कसरी आएको भन्ने ? ‘तपाईँ एक्कासी आउनु भएको छ चिन्दै नचिनेको मानिससँग किन यस्तो कुरा गर्नु ?’ मैले भनेँ ‘तपाई आफ्नो परिचय पनि खुलाउनु हुँदैन कसले पठाएको पनि भन्नु हुँदैन अनि केको आधारमा नआएको मान्छेलाइ पनि आएको छ भनौँ त ?’ मैले यहाँ केही पनि नभएको बताएँ । ‘केही चाहीँ भएको हो तर तपाईँले कुरा लुकाउन खोज्नुभएको छ’ ती व्यक्तिले मलाई र्याखर्याखती पार्न खोजे । कोही पनि नआएको कुरा मैले धेरैपटक भने । जबरजस्ती रुपमा आउँदै नआएको मानिसलाई पनि आएको छ भन्न पनि मिल्दैन नि ।
‘ म पीडित हुँ भने मैले नै हो फेस गर्ने, तपाईँहरुलाई अरुको व्यक्तिगत जिन्दगीको किन यति धेरै चासो, बरु सडक भत्किएको छ त्यतातिर जानुस न । अरुले के खायो के गर्यो भन्ने कुराको जानकारी राख्नु पत्रकारीता होइन नि । व्यक्तिगत जीवन सबैको हुन्छ , कसैले पनि इन्टरफेयर गर्न मिल्दैन । मैले किन आउँदै नआएको ब्यक्तिलाई आएको भनेर भन्ने ? ती व्यक्तिले पटकपटक सभामुख आएकै हो भनिरहेको थियो । ममाथि यौन शोषण भएको समेत उनि आफैले पटकपटक दोहोर्याइ रहेका थिए । बाबुछोरीको सम्बन्धलाइ सेक्समा जोड्न पाइन्छ ? तपाईँहरुको छोराछोरी हुँदैनन् , तपाईँलाई पनि त्यही आरोप लगाइदिने ? तपाईँ सुनियोजित ढंगले आउनुभएको रहेछ म केहीपनि बोल्दिनँ’ , ‘फोटो खिच्ने काम पनि नगर्नुस’ मैले त्यति चाहीँ भनेको हुँ ।
पुलिसलाई पनि बोलाउनु भयो रे भनेर उनले प्रश्न गरेँ । ‘म त्यतिबेला रिसमा थिएँ । रिसको झोँकमा कसलाई फोन गरे, कसलाई बोलाएँ थाहा भएन’ मेरो उत्तर यही थियो । तपाईँहरुले जतिसुकै कुरा घुमाउन खोजेपनि निश्कर्ष यही हो, ‘उहाँ आउनु नै भएको छैन ।’ मैले ती मिडियापर्सनलाई यही भनेको थिएँ ।
त्यो साँझ मलाई सभामुखले फोन गर्नुभएको कुरा चाहीँ सत्य हो । उहाँले फोनमार्फत त्यही समायोजनको कुरा गर्नुभएको हो । उहाँले कुरा अगाडी बढीरहेको र यति सामान्य विषयलाई लिएर आवेगमा नआउनका लागि अनुरोध गर्नुभएको थियो ।
चस्मा र जुत्ताको तलुवालाई लिएर तथ्यको विषयान्तर गर्न खोजिएको छ । त्यो भाँच्चिएको चस्मा मेरो श्रीमानको हो । उहाँसंग मेरो कहिलेकाँही झगडा पनि परिरहन्छ । यतिसम्म कि कहिलेकाँही त लुछाचुँडी नै हुने गरेको छ, चस्मा पनि त्यहि बेलामा भाँच्चिएको हो ।