काठमाडौं । सरकार! कोठा खाली छ? भन्दै दुई महिनादेखि माइतीघर मण्डलामा धर्ना दिइरहेकी सामाजिक अभियन्ता दिपा नेपपालीले अनिश्चितकालिन सत्याग्रह धर्नाको घोषणा गरेकी छन् । ६१ दिनसम्म राज्यले आफ्नो आवाज नसुनेको भन्दै उनले आजदेखि अनिश्चितकालीन सत्याग्रह सुरु गर्ने घोषणा गरेकी हुन्।
उनले ‘सरकारको मनको कोठा अझै बन्द छ’ भन्दै राज्य जातीय विभेदप्रति अझै संवेदनशील हुन नसकेको आरोप लगाएकी छन्। उनका अनुसार दुई महिनादेखि ‘सरकार, कोठा खाली छ?’ भन्ने प्रश्नसहितको आन्दोलन जारी रहँदा पनि कुनै ठोस सुनुवाइ नभएपछि सत्याग्रहलाई अनिश्चितकालीन रूपमा अगाडि बढाउने निर्णय गरिएको हो।
उनले लामो समयदेखि खुला आकाशमुनि धर्नामा बस्दा पनि सरकार बेखबर जस्तो देखिएको भन्दै गम्भीर असन्तुष्टि व्यक्त गरेकी छन्। ‘चर्को घाम र पानीबीच सडकमा उभिँदा पनि राज्य मौन छ, आखिर किन?’ भन्ने प्रश्न उठाउँदै उनले जातीय विभेदविरुद्धको मुद्दालाई राज्यले उपेक्षा गरेको आरोप लगाइन्।
घोषणापत्रमा उनले जातीय विभेदलाई ‘आधुनिक समाजभित्र पनि झनै विकराल बन्दै गएको समस्या’ भन्दै यसले शहरदेखि गाउँसम्म नयाँ स्वरूपमा फैलिरहेको उल्लेख गरेकी छन्। उनका अनुसार सामाजिक संरचना, राज्यको सोच र व्यवहारमा अझै विभेद कायम रहँदा नागरिकले समानताको अनुभूति गर्न नसकेको अवस्था छ।
उनले सरकार नयाँ वा पुरानो जे भए पनि जातीय विभेदको सवालमा कुनै पनि सरकार गम्भीर नभएको दाबी गर्दै ‘पिँधको मुद्दा सुन्ने क्षमता राज्यसँग छैन’ भन्ने प्रश्नसमेत उठाएकी छन्। उनले एक विप्ती मार्फत राज्यले समयमै ध्यान नदिए आन्दोलन अझ व्यापक हुन सक्ने चेतावनी पनि दिएकी छन्।
सत्याग्रह घोषणा गर्दै उनले माग पूरा नभएसम्म शान्तिपूर्ण आन्दोलन जारी रहने स्पष्ट पारेकी छन्। ‘हामीलाई जातीय विभेद कुनै पनि हालतमा स्वीकार्य छैन,’ भन्दै उनले नागरिक, सरोकारवाला र राज्य सबैलाई आत्मसमिक्षा गर्न आह्वान गरेकी छन्।
यसअघि नै माइतीघर मण्डलामा दुई महिनादेखि जारी धर्ना अब अनिश्चितकालीन सत्याग्रहमा रूपान्तरण भएपछि आन्दोलन अझै लामो र निर्णायक चरणमा प्रवेश गरेको देखिएको छ।