सामाजिक सञ्जालका भ्रामक विज्ञापन हटाउन विज्ञापन बोर्डको कडा निर्देशन, कानुनी कारबाहीको चेतावनी

दियोपोस्ट संवाददाता  

काठमाडौँ । सामाजिक सञ्जालमार्फत प्रकाशन तथा प्रसारण भइरहेका आधारहीन र भ्रामक विज्ञापन तत्काल हटाउन विज्ञापन बोर्डले निर्देशन दिएको छ। साथै, यस्ता विज्ञापन प्रसारण भएको पाइएमा कडा कानुनी कारबाही गरिने चेतावनीसमेत बोर्डले दिएको छ।

यसैबीच, सामाजिक सञ्जालमा फैलिरहेका झुट्टा तथा भ्रामक विज्ञापनबारे कारबाही प्रक्रिया अघि बढाउन सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।

मन्त्रालयको चासोपछि विज्ञापन बोर्डले बिहीबार सार्वजनिक सूचना जारी गर्दै प्रचलित कानुनले निषेध गरेका, आवश्यक लेबलिङ, ब्रान्डिङ तथा आधिकारिक प्रमाणीकरण नभएका औषधिजन्य तथा अन्य सामग्रीका विज्ञापन सामाजिक सञ्जालमा तीव्र रूपमा बढिरहेको भन्दै तत्काल रोक लगाउन आग्रह गरेको हो।

बोर्डका प्रमुख प्रशासकीय अधिकृत देवी पाण्डे खत्रीका अनुसार सामाजिक सञ्जालमार्फत विभिन्न औषधिजन्य सामग्रीको भ्रामक प्रचार गरी सर्वसाधारणलाई भ्रममा पार्ने, ठगी गर्ने तथा जनस्वास्थ्यसँग सम्बन्धित आधारभूत मापदण्ड उल्लङ्घन भएको सम्बन्धमा उजुरीहरू समेत प्राप्त भएका छन्। यस्ता गतिविधिले उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पार्नुका साथै आर्थिक ठगीको जोखिम समेत बढाएको बोर्डको निष्कर्ष छ।

विशेषगरी कपाल उमार्ने, कपाल बाक्लो वा लामो बनाउने, हड्डी तथा नसाको दुखाइ निको पार्ने, शरीरको बोसो घटाउने, मिर्गौला सफा गर्ने तथा शरीरका विषाक्त पदार्थ हटाउने जस्ता दाबी गरिएका औषधिजन्य उत्पादनहरूको प्रचार सामाजिक सञ्जालमा व्यापक रूपमा भइरहेको बोर्डले जनाएको छ। वैज्ञानिक आधार, आधिकारिक स्वीकृति वा प्रमाणीकरणबिना आकर्षक विज्ञापनमार्फत सर्वसाधारणलाई भ्रमित पार्ने कार्य बढ्दो क्रममा रहेको पनि सूचनामा उल्लेख छ।

विज्ञापन ९नियमन गर्ने० ऐन, २०७६ को दफा ५ तथा अन्य प्रचलित कानुनविपरीत कुनै पनि विज्ञापन प्रकाशन वा प्रसारण नगर्न तथा नगराउन सम्बन्धित विज्ञापनदाता, विज्ञापन एजेन्सी, सामग्री उत्पादक, विक्रेता, डिजिटल प्लेटफर्म सञ्चालक र सामाजिक सञ्जाल प्रयोगकर्तासहित सबैलाई सचेत गराइएको छ। यस्ता गैरकानुनी विज्ञापनले उपभोक्ताको स्वास्थ्य, सुरक्षा र आर्थिक हितमा गम्भीर असर पार्ने भएकाले त्यस्ता गतिविधिबाट टाढा रहन पनि बोर्डले आग्रह गरेको छ।

त्यसैगरी, चिकित्सकको सिफारिसमा मात्र बिक्री–वितरण गरिने औषधिहरूको समेत सामाजिक सञ्जालमा भ्रामक विज्ञापन भइरहेको गुनासो आएको बोर्डले जनाएको छ। आवश्यक लेबलिङ, ब्रान्डिङ तथा आधिकारिक प्रमाणबिना गरिने प्रचारले भ्रम फैलाउने र गलत उपचारतर्फ आकर्षित गर्ने जोखिम रहेको बताइएको छ।

यस्ता भ्रामक विज्ञापन देखिएमा तत्काल विज्ञापन बोर्डमा उजुरी गर्न उपभोक्तालाई अनुरोध गरिएको छ। प्राप्त उजुरीका आधारमा आवश्यक अनुसन्धान र कानुनी प्रक्रिया अघि बढाइने बोर्डले स्पष्ट पारेको छ।

सिफारिस