
काठमाडौँ । प्यूठानको नौबहिनी गाउँपालिका-६ लुङका १९ वर्षीय मधु सुनारको हत्या प्रकरणमा दोषीलाई उन्मुक्ति दिइएको आरोप लगाउँदै पीडित परिवार र आफन्तहरूले जिल्ला सरकारी वकिल कार्यालय अगाडि धर्नासहित नाराबाजी गरेका छन्। पीडित परिवार र आफन्तहरूले आज खलंगामा धर्ना तथा नाराबाजी गर्दै निष्पक्ष छानबिन र न्यायको माग गरेका हुन्।
आर्थिक लेनदेन गरी हत्या आरोपितलाई उन्मुक्ति दिन खोजिएको र नियोजित हत्याको घटनालाई भवितव्य भनेर मुद्धा चलाइएको पीडित परिवारको आरोप छ । पीडित पक्षका अनुसार गत जेठ २ गते जनज्योति माध्यमिक विद्यालय फूलवारी नजिक खाजा खाने क्रममा मधु सुनार, विनोद बिक लगायत केही युवामाथि सोही गाउँका ४२ वर्षीय केशव केसीसहितका व्यक्तिहरूले आक्रमण गरेका थिए। घटनाका क्रममा केही व्यक्ति घाइते भएका थिए भने मधु सुनारलाई लखेटी-लखेटी डुकुङधारा भिरबाट खसालेर हत्या गरिएको आरोप पीडित परिवारको छ।
घटनापछि मृतकका आमा पुतला सुनारले आरोपीका बिरुद्ध जिल्ला प्रहरी कार्यालय प्यूठानमा कर्तव्य ज्यानसम्बन्धी जाहेरी दर्ता गराएकी थिइन्। सोही जाहेरीका आधारमा उनीहरुलाई पक्राउ गरेता पनि २५ दिन पछि थुना मुक्त गरेको बताइएको छ ।
पीडित पक्षले जिल्ला प्रहरी कार्यालयले ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यानको आधारमा अनुसन्धान गरी तयार पारेका कागजात र प्रतिवेदनलाई बेवास्ता गर्दै सरकारी वकिल कार्यालयले मुद्दालाई कमजोर बनाएर भवितव्य ज्यानतर्फ लैजाने प्रयास गरेको आरोप लगाएका छन् । सरकारी वकिल कार्यालयले प्रहरीका कागजातहरू फेरबदल गरी मुद्दाको प्रकृति परिवर्तन गरेको र आरोपितलाई छुटाइएको पीडितले बताए ।
धरौटीमा रिहा भएका आरोपितहरूले गाउँमा गएर खुसीयाली मनाएको भन्दै स्थानीयवासी र आफन्तले असन्तुष्टि व्यक्त गरेका छन्। न्यायको माग गर्दै मृतकका आमा पुतला सुनार, बुवा विष्णु सुनार तथा श्रीमती माया सुनारले सम्बन्धित निकायमा निवेदन दिएका छन्।
आरोपीहरु निर्वाध रुपमा गाउँमा घुमिरहेको र आफुहरु असुरक्षित महसुस गरेको पीडित परिवारले गुनासो गरे । उनीहरूले घटनालाई कर्तव्य ज्यानका रूपमा निष्पक्ष अनुसन्धान गरी दोषीलाई मुलुकी अपराध संहिताअनुसार हदैसम्मको कानुनी कारबाही गर्न माग गरेका छन्।
पीडित परिवारले हत्या आरोपितलाई अनुसन्धानको दायरामा ल्याउनुको सट्टा हिरासतमुक्त गराइनुले दलित समुदायले न्याय पाउन नसकेको अनुभूति भएको बताएका छन्। उनीहरूले दोषीलाई उन्मुक्ति दिन भूमिका खेलेको पुष्टि भए सरकारी वकिल कार्यालय प्यूठानका जिम्मेवार अधिकारी तथा कर्मचारीमाथि समेत आवश्यक कानुनी कारबाही गर्न माग गरेका छन्।

