काठमाडौं । नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशका अध्यक्ष टंकप्रसाद पोखरेललाई ‘कर्पोरेट इन्डस्ट्री लिडरशिप अवार्ड-२०२६’ प्रदान गरिएको छ। कर्पोरेट बिजनेस म्यागजिनद्वारा बिहीबार काठमाडौंस्थित र्याडिसन होटलमा आयोजित १८औँ कर्पोरेट बिजनेस अवार्ड-२०२६ अन्तर्गत विशेष समारोहमा पोखरेललाई उक्त सम्मान प्रदान गरिएको हो।
उद्योग तथा व्यवसाय क्षेत्रको विकास, निजी क्षेत्रको नेतृत्व सुदृढीकरण, उद्यमशीलता प्रवर्द्धन र आर्थिक गतिविधि विस्तारमा पुर्याएको महत्वपूर्ण योगदानको मूल्याङ्कन गर्दै पोखरेललाई सम्मान गरिएको आयोजकले जनाएको छ।
समारोहमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले पोखरेललाई अवार्ड हस्तान्तरण गरेका थिए। कार्यक्रममा उद्योग, व्यापार, बैंकिङ, वित्तीय क्षेत्र तथा विभिन्न पेशागत क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूको सहभागिता रहेको थियो।
सम्मान ग्रहणपछि पोखरेलले प्राप्त अवार्ड सम्पूर्ण उद्योगी–व्यवसायी समुदाय, नेपाल चेम्बर अफ कमर्स परिवार तथा लुम्बिनी प्रदेशका निजी क्षेत्रप्रति समर्पित रहेको बताए। उनले निजी क्षेत्रको सशक्तीकरण, लगानी प्रवर्द्धन र आर्थिक समृद्धिका लागि आफ्नो प्रतिबद्धता अझ दृढ बनेको उल्लेख गरे।
नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशको नेतृत्व गर्दै आएका पोखरेलले निजी क्षेत्रका समस्या समाधान, उद्यमशीलता विकास, लगानीमैत्री वातावरण निर्माण तथा सरकार–निजी क्षेत्रबीचको सहकार्य विस्तारमा सक्रिय भूमिका खेल्दै आएका छन्। उनको नेतृत्वमा व्यवसायिक वातावरण सुधार, लगानी विस्तार र आर्थिक गतिविधि प्रवर्द्धनका विभिन्न पहलहरू अघि बढाइएका छन्।
कर्पोरेट बिजनेस म्यागजिनले हरेक वर्ष विभिन्न क्षेत्रका उत्कृष्ट योगदानकर्तालाई सम्मान गर्दै आएको छ। यस वर्ष सम्पन्न अवार्ड कार्यक्रम यसको १८औँ संस्करण हो।

