जाजरकोट,कार्तिक २ । छेडागाड नगरपालिका–१३ का बद्री राना अहिले ५१ वर्षको भए । उनले जान्ने भएदेखि खार गाउँमा पिउने पानीको माग हुँदै आएको थियो । प्रत्येक पटक चुनावमा भोट माग्न घरदैलोमा आउने नेताले भेरी नदीबाट एक घण्टा लगाएर बोकेर ल्याएको पानी पिउँदै यहाँ पानीको व्यवस्था गर्ने वचन दिएका थिए ।
नेताका ती वचन कहिल्यै पूरा नभएपछि आजभोलि जसले खानेपानीको लागि पहल गर्छु भने पनि बद्री रानालाई आश नै लाग्न छाडिसकेको छ । रानाले भने, “सबैले काम गर्छौं भने, तर अहिलेसम्म कसैले केही गरेनन्, हाम्रो पानीको सहारा यही मुख्य भेरी नदी हो, आश मरिसकेको छ, ।”
उनीजस्तै अर्का स्थानीयवासी सविन राना भन्छन्, “भेरी नदीबाट पानी बोकेर पिउन थालेको आफू जान्ने भएदेखि हो, मेरो हजुरबाले पनि यहीको पानी बोकेर दैनिकी चलाएका हुन्, हामी पनि त्यही गर्छौं, ।” दैनिक बिहानदेखि बेलुकासम्म पानी बोक्न नै समय जाने गरेको नौ वर्षीया बालिका जानकी राना बताउँछिन् । विद्यालय पढ्न गएपछि मात्र पानी बोक्न छुट्छ, नत्र दैनिक पानी बोक्नुपर्ने हाम्रो बाध्यता भएको जानकीको भनाइ छ ।
छेडागाड नगरपालिकाका प्रमुख लालबहादुर महतरा र प्रदेशसभा सदस्य करवीर शाही, हालका वडाध्यक्ष मोतीलाल खत्रीले चुनाव लड्ने समयमा पानी ल्याउँछु भनेर भोट लिएको भए पनि अहिलेसम्म त्यो वाचा पूरा नगरेको स्थानीयवासीको भनाइ छ ।
गाउँलेको एउटै स्वर छ–‘‘अब जसले पहिला पानी दिन्छ, उसैलाई भोट दिन्छौं । पहिले पानी अनि भोट ।’’ सांसद, मन्त्रीसम्म हिँड्ने त्यो बाटोमा पानीको समस्याबारेमा जानकार हुँदाहुँदै पनि उधारो आश्वासन मात्र दिने गरेको स्थानीयवासीको दुखेसो छ ।
हिउँद् याममा भेरी नदीमा पानी सफा देखिने भएकाले पिउन खासै समस्या हुँदैन, वर्षायाममा धमिलो पानी पिउँदा वर्षेनी यहाँका गाउँले पानीजन्य रोगले बिरामी हुने गरेको स्थानीयवासी झुपे रानाले बताउनुहुन्छ । बत्तीस घरधुरी बस्ने यो ठाउँमा सबैभन्दा ठूलो समस्या भनेकै पानीको रहेको छ ।
स्थानीय पिपलतरा खोलाबाट पानी ल्याएर पिउनका लागि आफूहरुसँग बजेट नभएकाले समस्या भएको झुपेले बताए । लाखौँ रकम बजेट कहाँबाट ल्याएर हाम्रो बस्तीमा पानी खाउँ रु झुपेले प्रश्न गरे।
खानेपानीकै समस्या हुने यस गाउँमा शौचालय, पशु चौपायलाई कसरी पानी उपलब्ध गराउन सकिन्छ रु स्थानीयवासीको एकै प्रश्न छ । पिउने पानीको अभावले गर्दा यहाँ कृषि र पशुपालन पनि राम्रो हुन सकेको छैन ।
पानीको पिरलो गर्दै धेरै पिँढीको मृत्यु भइसकेको स्थानीयवासी बताउँछन् । धेरै समयसम्म भेरीको पानी खाएर यहाँ बस्न नसकिने भन्दै स्थानीय रनबहादुर राना भने, “जग्गा, जमीन, घर सबै छ तर पानी छैन, बाध्यताले पानीकै लागि यो ठाउँ छाड्नुपर्ने बाध्यता आइलाग्दै छ ।” अब अर्को चुनावसम्म पानी नदिने नेतालाई भोट नदिनेसम्म हुनसक्ने स्थानीयवासी बताउँछन् ।
यता छेडागाड नगरपालिकाका निर्मित प्रशासकीय अधिकृत झलक केसीले सो ठाउँमा छिट्टै खानेपानीको व्यवस्थापन गरिने बताए ।
उनले भने, “१४ किलोमिटर टाढाबाट पानी ल्याउनुपर्ने तर जनसङ्ख्या कम भएकाले समस्य हुँदै आएको थियो अब हामी हेल्भिटास नेपालको सहकार्यमा खार गाउँमा पानी ल्याउने भनेर प्राविधिक डिजाइनको काम सकिएको छ, अन्य काम छिट्टै हुनेछ ।”
खर्च बढी लाग्ने जनसङ्ख्या कम भएकाले अहिलेसम्म खार गाउँमा कसैको पनि खानेपानीको योजना प्राथमिकतामा नपारेको उनले बताए। अब स्थानीय सरकारले सहकार्यको माध्यमबाट सो गाउँमा पानीको व्यवस्थापन गर्ने उनले बताए । रासस