च्याम्पियन्स लिगः टोनी क्रुजको गोलले रियल मड्रिडको पहिलो जित

दियोपोस्ट संवाददाता

काठमाडौँ, कात्तिक ६ । च्याम्यिन्स लिगमा रियल मड्रिडले पहिलो जित दर्ता गरेको छ । गएराती गलातासरेलाई १–० गोलअन्तरले हराउँदै रियलले जितको खाता खोलेको हो ।

टर्कीमा भएको खेलको पहिलो हाफको अठारौँ मिनेटमा रियलका टोनी क्रुजले गोल गरेका थिए । इडेन हजार्डले उत्कृष्ठ पासमा क्रुजको प्रहार गोलमा परिणत भएको थियो । खेलमा अन्य सुनौलो अवसरहरु प्राप्त भएतापनी दुबैतर्फबाट थप गोल हुन सकेन ।

जित सँगै रियल मड्रिड अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको छ । रियलले ३ खेलमा एक जित, एक बराबरी र एक हारसहित ४ अंक बनाएको छ । समुहको शीर्ष स्थानमा पिएसजी रहेको छ । पिएसजीले समुह चरणको सबै खेलमा जित हाँसिल गर्दै ९ अंक बनाएको छ ।

खेलसँगै रियलले लिगमा कम ब्याक गरेको छ । मंगलबार रातिको खेलबाट रियल सँगै प्रशिक्षक जिनेदीन जिदानले समेत साख जोगाएका छन् । अन्तराष्ट्रिय संचारमाध्यमका अनुसार गएरातिको खेलमा यदी रियल पराजित भएको भए जिदानलाई बर्खास्त गर्ने तयारी रहेको थियो । यसर्थमा रियलको जितले जिदान बर्खास्त हुनबाट जोगिएको छ ।