
काठमाडौं, १० कार्तिक । गुण्डा नाइके बलराम सापकोटा ‘बले’ बले सहितको जुवाखालबाट प्रहरीले बायु सेवा संचालक संघका पूर्व अध्यक्ष पवित्रा कुमार कार्कीलाई समेत पक्राउ गरेको खुलाशा भएको छ ।
डाँफे ट्राभल्स सेन्टरको मालिक समेत रहेका कार्की यसअघि बायु सेवा संचालक संघका अध्यक्ष थिए । दिवंगत पर्यटन व्यावसायी आङछिरिङ शेर्पाको लगानी रहेको एयर डाइनेष्टी हेलि सर्भिसमा व्यावसायीक साझेदार रहेका उनी उक्त हेलिकोप्टर कम्पनिको अध्यक्ष समेत हुन् ।
महाराजगन्ज प्रहरी स्रोतका अनुसार कार्कीकै साथबाट बैंक अफ काठमाडौंको करोडौंको चेक भेटिएको थियो ।
काठमाडौँ महानगरपालिका वडा नं ३ महाराजगञ्ज स्थित विक्रम गौतमको घरमा जुवा खेलिरहेको अवस्थामा महानगरीय प्रहरीवृत्त महाराजगञ्जको टोलीले शनिबार राति दुई करोड ६७ लाख सहित २५ जना जुवाडेलाई पक्राउ थियो ।
क्यासिनो किङ भनिने सापकोटाको लगानीमा सञ्चालित उक्त जुवा खालमा ठूलो मात्रामा हारजित हुने भएकाले उनीहरुले करोडौं रकम लिएर गएका थिए । जुवाखालबाट प्रहरीले पौने ३ करोड बराबरको नगद र चेक समेत बरामद गरेको छ । यसअघि पक्राउ परेको भनिएका पूर्व गृहराज्य मन्त्री इन्द्र बानिया भने प्रहरीकै सुचनाको आधारमा भागेको बताइएको छ ।
पक्राउ पर्नेहरुमा पवित्रा कुमार कार्की, सोभित सिलवाल, प्रदीप बोगटी, रामकृष्ण केसी, इन्दु श्रेष्ठ, रञ्जन राजबंशी, सीताराम खड्का, रोशन तामाङ, राम तामाङ, कृष्ण भण्डारी, सुमन गुरुङ, सुमन अग्रवाल, सोदेल कार्की, पवन अग्रवाल, मुक्ति लामा, भक्त तामाङ, शम्भु बुढाथोकी, प्रेम थापामगर, अशोक श्रेष्ठ, हलामप्रसाद पराजुली, बुद्ध लामा, थम्कु शेर्पा र नवाङ लामा रहेका छन् ।