बसले अटो रिक्सालाई ठक्कर दिँदा धनुषामा एकै परिवारका ४ जनाको ज्यान गयो

दियोपोस्ट संवाददाता

धनुषा । धनुषाको गणेशमान चारनाथ नगरपालिका-१, वीरेन्द्र बजारमा यात्रुबाहक बस र अटोरिक्सा आपसमा ठोक्किँदा चार जनाको मृत्यु भएको छ । विराटनगरबाट धनगढी जाँदै गरेको सु.प्र ०१-००१ ख ३२८८ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको प्रदेश २-०१–००१ ह १२३० नम्बरको अटोरिक्सा शनिबार साँझ ठक्कर दिएको हो ।

मृतकमध्ये एकै परिवारका तीन जना रहेका छन् । साथै दुई बालबालिका गम्भीर घाइते भएका छन् ।
।
दुर्घटनामा गणेशमान चारनाथ–१ भरतपुरका अन्दाजी ४० वर्षीय धनबहादुर पुर्वछाने मगर, ३५ वर्षीय शम्भु पुर्वछाने मगर, ३५ वर्षीया निशा मगर र अटोरिक्सा चालक अन्दाजी ४० वर्षीय डम्बर राईको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय ढल्केबरले जनाएको छ ।

घाइते १४ वर्षका शीतल मगर र ९ वर्षका रोशन मगरको जनकपुरधामस्थित न्युरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । प्रहरीले दुर्घटनाबारे थप अनुसन्धान भइ रहेको जनाएको छ ।